काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा निःशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरिएको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
उनले भने, 'हाम्रा साथीहरुलाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ। कसैलाई पनि नियन्त्रणमा लिएर कुटपिट गर्नु यातना दिनु गैरकानुनी हो। त्यस्ता प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्छ।'
मानवअधिकारको विश्वव्यापी मान्यतालाई समेत लत्याउँदै हिरासतभित्र आफ्ना विद्यार्थी नेतालाई चरम मानसिक र शारीरिक यातना दिइनु अत्यन्तै गैरन्यायिक भएको उनले बताए।
संघले यसबारे राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा उजुरी गरिसकेको छ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा दीपक ओझालगायत नेविसंघका केही नेताकार्यकर्ता पक्राउ परेका छन्।