काठमाडौं– आइतबार रातिको खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएसँगै राजस्थान रोयल्स आईपीएलबाट बाहिरिएको छ। कोलकातासँग ६० रनले पराजित हुँदै राजस्थान जारी सिजनको आईपीएलबाट बिदा भएको हो।
टस हारेर ब्याटिङमा आएको कोलकाताले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १९१ रन बनायो। १९२ रनको लक्ष्य पछ्याएको राजस्थान कमजोर सुरुवात गर्दै पूरा ओभर खेलेर नौ विकेटको क्षतिमा १३१ रनमा समेटियो।
कोलकाताका कप्तान इयोन मोर्गनले सर्वाधिक ६८ रन जोेडे। उनले छ छक्का र पाँच चौकाको मद्दतमा सो रन जोडेका हुन्। त्यस्तै, राहुल त्रिपतीले ३९ रन, सुभमन गिलले ३६ रन, आन्द्रे रसेलले २५ रन बनाए भने पट कमिन्सले १५ रन बनाए।
यसबाहेक अन्य खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
राजस्थानका लागि राहुल तेबतियाले सर्वाधिक तीन विकेट लिए भने कार्तिक त्यागीले दुई विकेट लिए। एक विकेट लिनेमा जोफ्रा आर्चर र श्रेयस गोपाल रहे।
जवाफी ब्याटिङमा आएको राजस्थानले तेस्रो ओभरमै स्टिभ स्मिथ र बेन स्टोक्ससहित तीन विकेट गुमायो। जसमा राजस्थानका अनुभवी र विस्फोटक ब्याट्स्मेन थिए।
खेलमा बेन स्टोक्सले १८ रन बनाए भने पटक कमिन्सले ३५ रन बनाए। राहुल तेबतिया १३ रनमा आउट हुँदा श्रेयस गोपालले अविजित २३ रन बनाए।
कोलकाताका बलर पट कमिन्सले जादुमयी सुरुवात गर्दै व्यक्तिगत पहिलो दुई ओभरमै तीन विकेट चट्काए भने खेल अवधिभरमा चार विकेट लिए।
त्यस्तै वरुन चक्रवर्ती र शिवम् मावीले समान दुई विकेट गिराए भने कमलेश नगरकोटीले एक विकेट लिए।
जितसहित कोलकाता १४ अंक बनाएर चौथो स्थानमा छ। प्लेअफका लागि प्रतिस्पर्धामा रहेको कोलकातालाई नेट रन रेट बाधक बन्न सक्नेछ।
उसको रन रेट नकारात्मक ०.२१४ छ जुन हैदराबादको भन्दा कम हो। अब कोलकाताको प्लेअफ यात्रा हैदराबादको जित वा हारमा निर्भर रहनेछ। त्यस्तै दिल्ली र बैंगलोरको खेलको केही असर पनि कोलकातालाई पर्नेछ।