सोमबार, भदौ १५, २०८३

रहेनन् मर्चवार सडक विस्तारको सूत्राधार

२०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित धितालले मर्चवारको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

भैरहवा- रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सडक विस्तारमा महत्त्वपूर्ण योगदान दिएका रुपन्देही जिल्ला विकास समितिका पूर्वसभापति विजय धितालको निधन भएको छ।

२०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित धितालले मर्चवारको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।

कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले भने, 'हाटीबनगाईदेखि थुम्हवा पिपरहवाको सडक विस्तार उहाँले नै गराउनुभयो। पछाडि पारिएको क्षेत्रमा उहाँले विकासको प्रारम्भ गर्नुभएको हो। यसैले होला, उहाँको निधनपछि मर्चवारतिरका धेरै मान्छेले बढी नै दुःख व्यक्त गरेका छन्।' 

धिताल नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ सभाका सदस्य हुन्। ढकालका अनुसार स्वर्गीय धिताल नेपाली कांग्रेसका इमानदार नेता थिए। उनले भने,  'उहाँ राजनीतिमा तँछाडमछाड नगर्ने हँदा पुनः पदीय जिम्मेवारीमा आउन चाहनु भएन।'

हुन पनि जिल्ला सभापति भएपछि धिताल उनी कुनै पनि लाभको पदमा गएनन्। 

भद्र, इमानदार र असल स्वभावका धिताल तिलोत्तमा नगरपालिका-१२ नम्बरमा बसोबास गर्दै आएका थिए। 

पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले धिताल नेतृत्वको टिमले तत्कालीन समयमा मर्चवार क्षेत्रमा सडक विस्तारमा गरेको योगदान सधैं स्मरणीय रहने बताए।   

धिताल सभापति रहेका बेला जिविस उपसभापति रहेका शुक्लाले भने, 'मर्चवारमा त्यतिबेला १० मिटर पनि सडक थिएन थिएन। हामीले प्लानिङ गर्यौं। त्यही योजनाअनुसार अहिलेसम्म सडक विस्तार भएको हो।' 

जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका शुक्लाले २८ वर्ष अगाडिका दिन सम्झिँदै भने, '०४९ साल साउन पहिलो साता भएको निर्वाचनबाट धितालजी कांग्रेसबाट सभापति र म राप्रपाबाट उपसभापति निर्वाचित भयौं। न्यूनतम खर्चबाट अधिकतम विकास गर्ने गरी हामीले धेरै मेहनत गरेर प्लानिङ गरेका थियौं। 

हाटीबनगाई सेमरा मुख्य सडक त्यतिबेला नै सुरु भएको बताउँदै शुक्लाले धिताल सबैलाई समन्वय गर्ने अद्भुत क्षमता भएको व्यक्ति रहेको स्मरण गरे। जिल्लामा बिजुली, खानेपानी, पुल र विद्यालय निर्माणमा पनि धितालकाे याेगदान महत्त्वपूर्ण रहेकाे शुक्लाले बताए।

आदर्श र निष्ठाको राजनीतिका पर्याय धितालले  आफ्नो पुर्ख्याैली सम्पत्ति बेचेर आमजनताको सेवामा समर्पित भएका थिए। 

भौतिक, शैक्षिक र सामाजिक विकास सक्रिय रहेका धिताल सधैं कमजोर मानिसलाई उठाउनुपर्छ भन्ने अभिप्रायले काम गर्थे। 

जिल्ला विकास समिति महासंघ एवम् विकेन्द्रीकरण सहयोग समाज (डेस्सो) का संस्थापक सदस्य धितालको शुक्रबार काठमाडौंमा उपचारका क्रममा ७८ वर्षको उमेरमा निधन भएको हो। धितालका पत्नी, एक छोरा, एक छोरी  र तीन जना नातिनातिना छन्। 

कांग्रेस नेता बालकृष्ण खाणले धितालले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवामा दिएकाे सक्रिय योगदान सधैं स्मरणयाेग्य रहेकाे बताएका छन्। उनले भनेका छन्, 'उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ।' 
 

प्रकाशित: Nov 01, 2020| 14:55 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।