काठमाडौं- भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदैछन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन्।
भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, “भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको छ ।”
नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति छन् । जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।
नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गरेको उक्त अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औं सेनापति हुन् ।
सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।
रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।
रासस