सोमबार, भदौ १५, २०८३

तिरस्कृत दृष्टिविहीन बालिकाको नर्स बन्ने धोको

दृष्टिविहीन छोरीलाई कसरी हुर्काउने चिन्तामा परेका आमाबाबुले गाउँटोलमा पनि ठूलै अपमान सहनुपर्‍यो।  दाजुभाइ, इष्टमित्र, छरछिमेक र गाउँलेले सान्त्वना दिनुकाे सट्टा उल्टै घृणा गरे।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

राजेश विद्रोही

पूजा कुमारी जन्मिँदा तन्दुरुस्त थिइन्। पहिलो सन्तानका रुपमा जन्मिएकी उनलाई परिवारमा माया गर्नेको कमी थिएन। सबैको लाडप्यारमा हुर्कंदै गइन्। 

बुबा हरीशचन्द्र राय र आमा दुलारीदेवी राय खुसी थिए। 

पूजा कोल्टे फेर्न सक्ने अवस्थामा पुगेपछि बुबाआमाले खेलौना किनेर ल्याइदिए। पूजाले खेलौनासँग खेल्न सकिनन्। जति प्रयास गर्दा पनि गुडियासँग रमाउन नचाहेपछि बल्ल थाहा भयो, उनी दृष्टिविहीन रहिछन्।

हाटबजार र मेलाबाट थुपारेका थरीथरीका खेलौना सबै सपनाको घरमा थन्किए।  सिरहाको लहान नगरपालिका–२४ मलहनमाका राय दम्पती छाेरी पूजा दृष्टिविहीन रहेको थाहा पाएपछि निराश बन्न पुगे।  

दृष्टिविहीन छोरीलाई कसरी हुर्काउने चिन्तामा परेका आमाबाबुले गाउँटोलमा पनि ठूलै अपमान सहनुपर्‍यो।  दाजुभाइ, इष्टमित्र, छरछिमेक र गाउँलेले सान्त्वना दिनुकाे सट्टा उल्टै घृणा गरे। दुलारीदेवी भन्छिन्, 'घरबाट बाहिर निस्किनै हुँदैनथ्यो। अलच्छिनी भनेर हुलकाहुल मानिस कुटपिट गर्न खाेज्थे।' 

गाउँबाट लखेट्न धेरै प्रयास भयो। यत्तिकैमा कान्छी छोरी करिना जन्मिइन्। उनी पनि दृष्टिविहीन रहेको थाहा पाएपछि  हरीशचन्द्रको जीवनका झन् दुःखका दिन सुरु भयो। उनीहरूले गाउँलेको तिरस्कार सहनुपर्‍यो।

पूजाको उपचारका लागि आमाबुवाले सक्दो कोसिस गरे। ऋण सापटी गरेर त्यतै कुदे। छोरीको उपचारका लागि पोकापन्तुरा बाेकेर देशका विभिन्न अस्पतालदेखि भारतका विभिन्न सहरसम्म चहारे। पूजाको उपचारका लागि केही वर्ष अस्पताल धाउँदै बित्यो। तर, कतै कुनै सीप चलेन।

हरीशचन्द्र भन्छन्, ‘छोरीलाई काँधमा बोकेर उपचारका लागि धेरै ठाउँमा पुगें। उपचार सम्भव भएन। धेरै ठाउँमा ठगिएँ।

यो कुरा छिमेकी हुँदै समाजले थाहा पाएपछि दुर्व्यवहार हुन थालेको आमा दुलारीदेवी सम्झिन्छिन्। 

उनी भन्छिन्, ‘विगत नकोट्याउनुस्। ती दिन सम्झँदा अहिले पनि मर्न मन लाग्छ। श्रीमान् इमानदार भएर मात्र हो। नत्र उहिल्यै सम्बन्धविच्छेद भइसकेको हुन्थ्यो।’ 

उनलाई केही व्यक्तिले दुईटै छोरीलाई विष खुवाएर मारिदेऊ समेत भने। आमाले सन्तानप्रति यस्तो अपराध कहाँ गर्न सक्थिन् र?

डाक्टरले समेत यिनीहरुको आँखा बन्दैन, किन यति धेरै अस्पताल आउँछौ भनेको विगत दुलारीदेवीको मानसपटलमा ताजै छ ।

दुलारीदेवी भन्छिन्, ‘जब मानिस ढुंगामुढा हान्न थाल्थे त्यसपछि घरभित्र पसेर चुकुल लाउँथें। धीत् मरुन्जेल रुन्थें।’

सबै हिँडेपछि बाहिर निस्किएर उनी आफ्नो काममा व्यस्त हुन्थिन्। दुलारीलाई कति पटक त आत्महत्या गरौं जस्ता पनि लाग्यो।

उनी भन्छिन्, ‘म यिनै दृष्टिविहीन अबोध नानीहरुको मायामा डुब्न थालें।’ 

टोलमा बस्नै नसक्ने अवस्था भएपछि उनीहरू घरपरिवारबाट छुट्टिए। हरेस खाएनन्। सन्तानको लालनपालनका लागि केही काम गर्ने अठोट गरे।  जग्गा लिजमा लिएर खेती गर्न थाले।

तरकारी खेतीबाट कमाएको पैसाले परिवार पाल्नेदेखि दुईटै छोरीको उपचार खर्चको जोहो हुन थाल्यो। अलिअलि पैसा जोगाएर एक कट्ठा घडेरी किने। त्यसपछि दम्पती दृष्टिविहीन छोरीहरू लिएर त्यो घडेरीमा झुपडी बनाएर बस्न थाले। 

झुपडीमै दम्पतीका दुई छोराको जन्म भयो। उनीहरु कुनै शारीरिक र मानसिक समस्या थिए। समाजका आगाडि थोरै भए पनि खुसीको अनुहार देखाउन पाएको दुलारी बताउँछिन्। हेप्ने मानिसको मुखमा ताल्चा लागेको छ। छोराहरू गाउँकै स्कुलमा कक्षा ४ र ६ मा पढ्छन्। 

ठूली भएपछि दुईटै दृष्टिविहीन छोरीलाई गाउँकै स्कुलमा भर्ना गरेका थिए। ‘यी अन्धी छाेरीहरुलाई कसरी पढाउनु? तिमीहरूलाई खान पुग्दैन, त्यही भएर यस्तो सन्तान जन्मिन्छ’ भनेर स्कुलका एक शिक्षकले बेइज्जत गरेपछि गाउँको स्कुलबाट पढाइ छोडाएको दुःखद घटना पनि उनीहरुसँग ताजै छ।

१५ वर्षीया पूजा उदयपुरको बेल्टार श्री आधारभूत विद्यालय सिवाई बेल्हाको कक्षा ८ मा अध्ययनरत छिन् भने १२ वर्षीया करिना कक्षा ४ मा अध्यनरत छिन्। छाेरीहरुकाे पढाइमा  रीता महतो र गंगा सरले सहयोग गरिरहेका छन्।

अचेल हरीशचन्द्र दम्पती सागसब्जी व्यापारी गर्छन् । गाउँलेबाट बचेर कुनै बेला आफ्नै घर पस्न बेलुका कि त रातिको समय पर्खिनुपर्ने स्थिति छैन। 

दृष्टिविहीन दिदीबहिनी छुट्टीमा घरै छन्। पूजा भन्छिन्, ‘मलाई राम्री थाहा छ विगत, त्यसको जवाफ दिन म नयाँ संसार सजाउँदै छु। सफल र असफल कति हुन्छु त्यो भविष्यले निर्धारण गर्छ।’

पढेर के गर्ने त? पूजा भन्छिन्, ‘हामी दुई दिदीबहिनीको नर्स बनेर देश र जनताको सेवा गर्ने ठूलो सपना छ। मेहनत गरे असम्भव केही छैन।’

प्रकाशित: Nov 01, 2020| 08:07 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।