काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी राख्नुपर्ने भएको छ।
सरकारले गरेको निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले सूचना जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रको कात्तिक ३ गतेको पत्रअनुसार अस्पतालमा धरौटी राखेर मात्रै उपचार गर्ने व्यवस्था गरिएको अस्पतालको सूचनामा उल्लेख छ।
अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च र ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने बताएको छ।
त्यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीलाई दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ भने ३० हजार धरौटी राख्नुपर्नेछ।
क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३ हजार ५०० उपचार खर्च तिर्नुपर्नेछ। उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अस्पतालले जनाएको छ।
निश्चित वर्गमा सरकारले तोकेअनुसार परिचयपत्र वा सम्बन्धित पालिकाले दिएको गरिब, अति अपांग, अशक्त, एकल महिला र ७० वर्ष नाघेको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुनेछ।