काठमाडौं– महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्कि दिने सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी ललितपुर सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ।
विप्लव समूहले कोणसभाको तयारी गरिरहेको अवस्थामा उनलाई ललितपुरबाटै पक्राउ गरिएको हो। केहीदिन अघि विप्लव समूहले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम गरेको थियो।
परिसर प्रमुख राईले जिल्ला सेक्रेटरी सावित्रा अधिकारी ‘विदुषी’ लाई पक्राउ गरेको पुष्टि गरे। ३१ जेठमा विज्ञप्ति निकालेर विप्लव सावित्राले एसएसपी राईलाई आफ्ना कार्यकर्तालाई धरपकड नगर्न भन्दै धम्की दिएकी थिइन्। त्यसको पाँच महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
आफ्ना कार्यकर्तालाई प्रहरीले अनावश्यक खानतलासी गरेको र घरबाटै धरपकड गरेर शारीरिक तथा मानसिक यातना दिएको भन्दै उनले त्यस्ता क्रियाकलाप रोक्नुपर्ने बताएकी थिइन्।
प्रहरीलाई नै विज्ञप्ति जारी गरेर धम्की दिएपछि उनीमाथि उच्च निगरानी भइरहेको थियो। पक्राउ परेकी विदुषीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी राईले जानकारी दिए।
‘
‘उनको साथबाट हामीले केही कागजात र अन्य सामानहरु पनि बरामद गरेका छौं,’ उनले भने, ‘थप अनुसन्धानपछि मात्रै खुल्छ।’