काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदीमा कार खस्दा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशूलीमा खसेको प्रहरी जनाएको छ। राति करिब साढे १२ बजे कार नदीमा खसेको थियो।
दुर्घटनामा परेर पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५–६० वर्षीय प्रेम भुजेल, ५५–६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ।
विधान महाधिवेशनमा लगिने प्रतिवेदनबारे छलफल गर्दै एमाले
पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्।
नेपाली प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका छन्। ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही ११ असोजमा सम्बोधन गर्नेछन्।
स्यानिटरी प्याडमा कर वृद्धि नगरेको सरकारको स्पष्टाेक्ति
सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।
आयातीत प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ। जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल (न्याप्किन लाइनर) तथा यस्तै सामानमा कुनै पनि कर वृद्धि नगरिएको राजस्व सचिव कृष्णहरि पुष्करले जानकारी दिए।
मलेसियाले श्रमिक लैजान हटायो प्रतिबन्ध
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन्।
मलेसियामा श्रमिकको अभाव भएपछि केही संख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन्। नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्कालदेखि लागू हुने प्रस्ट पारेको छ। कोरोना संक्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ।
हाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम
मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा
यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्र खाद्य निकायका प्रमुख डेविड बिसले चेतावनी दिँदै यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्। वित्त पोषण नमिले अक्टोबरबाट युद्धग्रस्त देशमा लाखौं मानिसको खाद्यान्न कटौती हुने बताइएको छ। यसो गर्दा त्यहाँका मानिसको जीवन झनै कष्टकर हुनेछ। उनले विश्व खाद्य कार्यक्रममा एक पटक फेरि वित्त पोषणको कमी भइरहेको बताएका छन्। यस्तो अवस्थामा अक्टुबरमा ३२ लाख र डिसेम्बरमा ५० लाख मानिसको खाद्यान्न कटौती गरिनेछ।
आईपीएलमा कोलकाता नाइट राइडर्स विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकाताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो। मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोडेको छ। कोलकत्ता चौथो स्थानमा उक्लिएको छ। छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ।