काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन्।
अध्यक्ष नेपालले बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका हुन्।
उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। अध्यक्ष नेपालले गठबन्धनका बीचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए।
गठबन्धनलाई आगामीभन्दा पछिसम्म निरन्तरता दिइने उनले उल्लेख गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरुका नेताहरुका बीचमा निकै राम्रो सुमधुर सम्बन्ध छ। बाहिर कसैले कुनै हल्ला फैलाउन खोजे पनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन। छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ। त्यो संरचना केन्द्रमा बन्ने छ। दस्तावेज पास गर्नेछ। यसको नामाकरण पनि गर्नेछ। त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बीचमा समन्वय संयन्त्र बनाउने छौं। सहकार्य पनि गर्दै जाने छौं। आगामी चुनावमा हामी, चनुावसम्म र चुनावपछि पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहान्छौं।’
अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडि बढ्ने नीति रहेको उल्लेख गरे। उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारेका छन्। पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिँदै गएको पनि उनको भनाइ छ।