काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका हुन्।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो- सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ। अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबी गरे। एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचाराहरुको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनु परेको उनको भनाइ थियो । अध्यक्ष ओलीले आफूले बनाइ दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुनुहुन्छ । एकचोटी तालि बजाउनूस् । हाम्रो समयमा हामीले बनाएको हो। मलाई खुसी लाग्छ उनले रिवन काटनु हुनेछ, बत्ति बाल्नु हुनेछ। उद्घाटन गर्नुहुनेछ। घर हामीले बनायौं रिवन उनले काटनुहुन्छ। घर हामीले बनायौं बत्ति उनले बाल्नु हुन्छ। तार हामीले जोड्यौ। प्लग बनायौं, उहाँले थिच्नु हुनेछ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए। उनले थपे, ‘माके पार्टी, माने पार्टी हेर्नुस्। यी पार्टीले राष्ट्रिय एकताको नभइ फाटोको खेती गर्छन्। राष्ट्रियताको मतलव छैन। सम्प्रभुता, राष्ट्रिय एकताको मतलव छैन। स्वाधिनताको मतलब छैन। भौगोलिक अखण्डताको मतलब छैन। राष्ट्रिय हितको मतलब छैन । अघि माने पार्टीको यसो हेर्दै थिए। पदाधिकारी पार्टी भएछ। पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ।’
अध्यक्ष ओलीले आगामी मंसीरभित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबीसमेत गरेका छन्। उनले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्ति समेत जनाएका हुन्।
अध्यक्ष ओलीले भने, ‘हामीलाई अचम्म लाग्छ। हामी कसैका पार्टी कार्यालय कब्जा गर्न जाँदैनौं। कसैका सम्पत्ति कब्जा गर्न जाँदैनौं। कसैका फाइल कब्जा गर्न जाँदैनौं। राज्य सत्ताको दूरुपयोग गराएर त्यसको आडमा राजनीति गर्न खोज्दैनौं। प्रहरीलाई कानुन उलंघन गर्ने संयन्त्रको रुपमा सत्तापक्ष प्रयोग गरिरहेको छ। कार्यालयमा आएर ताला लगाउने। विधिवत औपचारिक वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छेहरु कस्ता मतिका हुन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन्। अर्काको कार्यालयमा आएर लिखिर-लिखिर गरेर।'
अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारेका छन्। आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनको आपत्ति छ।