सोमबार, वैशाख २४, २०८१

५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं’

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, असोज ७, २०७८

काठमाडौं- २०७७ असोज ८ गते कंगोस्थित नेपाली सेनाको ज्वालादल गणमा भएको कुटपिट प्रकरणमा कसरी दोषी ‘हाकिम’लाई उन्मुक्ति दिइयो, ‘निर्दोष’ सिपाहीलाई जेल हालियो, हामीले त्यसबारे अघिल्लो शृंखलामा चर्चा गरेका थियौँ। कंगोस्थित ज्वालादल गणमा त्यस रात सैनिक अमल्दार नमराज माझी मात्र होइन, अन्य तीन अमल्दार र एक प्यूठमाथि पनि ‘निर्मम’ कुटपिट भएको तथ्य पहिलोपल्ट सार्वजनिक गर्‍यौं। कुटाइ खानेहरुमा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारू थिए।

triton college

कुटपिट प्रकरणको छानबिनका लागि गठन भएको ‘कोर्ट अफ इन्क्वायरी’सँग कुटिएका पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सहसेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए।

मरणासन्न हुने गरी कुटिएका अमल्दार नमराज माझीको त निलडामसहितको तस्बिर नै मिडियामा सार्वजनिक भएको थियो। माझीले ‘कोर्ट अफ इन्कवायरी’सँगको बयानमा आफूलाई तीन सैनिक अधिकृतले 'फुटबल बनाएर हानेको' भन्दै दिएको बयान पनि हामीले यसअघिको भागमा सार्वजनिक गरिसक्यौं।

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्। 

यो पटक हामी कुटपिटमा संलग्न तीन सहसेनानीहरु थापा, हुमागाईं र धितालको त्यो बयान सार्वजनिक गर्दैछौं, जहाँ उनीहरुले कुटपिट सहजै स्वीकारेका थिए। प्रस्तुत छ, उनीहरुले ‘कोर्ट अफ इन्क्वायरी’देखि समरी जनरल सैनिक अदालतसम्मलाई दिएको बयानको सार, जस्ताको त्यस्तैः 

सहसेनानी इन्द्र बहादुर थापाको बयानः 

corrent noodles
Metro Mart

असोज ८ गतेको करिब १०:३० बजे जवानहरू मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको विषयमा दुई जना सैनिक प्रहरीद्वारा रिपोर्ट भएपश्चात् जवान लाइनमा पुग्दा जवानहरू मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको देखेँ।

त्यसपश्चात निजहरुलाई सामेल गरी उनीहरूको अवस्था हेर्दा, सुन्दा, बोल्दा नै मादक पदार्थ सेवन गरेको प्रष्ट देखिन सकिन्थ्यो। यस क्रममा हामीसँग मादक पदार्थ चेक गर्ने कुनै पनि उपकरण नभएको र तत्काल मेडिकल नगरी प्रमाणित गर्न उपयुक्त नलागी निजको तत्कालीन अवस्थाको भिडियो भने मैले मेरो मोबाइलमा खिचेर राखेको छु। 

जवानहरू केही आवाज निकाली विरोध गरेको जस्तो, नटेरेको जस्तो, अमल्दार नमराज माझीले मुख फर्काएको र केही अस्तव्यस्त देखिन्थ्यो। उक्त स्थिति देखे पश्चात् कार्य पदिक, कार्य हुद्दालाई बोलाई निजहरुको रोहबरमा सैनिक प्रहरीद्वारा शारीरिक रुपमा मादक पदार्थ चेक जाँच गरियो र मादक पदार्थ सेवन गरेको प्रमाणित भयो। 

आपराधिक हिसाबले नभई, क्षति नहुने हिसाबबाट सबक सिकाउन मैँले एक पटक पाइपले निजको पुठ्ठामा हानेको हुँ।

तत्पश्चात् निजहरुलाई सोध्दा मादक पदार्थ सेवन गरेको स्वीकार गरे र निजहरुको नाम सैनिक प्रहरीलाई टिप्न लगाई, सबक स्वरूप शारीरिक रूपमा कुनै क्षति नपुर्‍याउने हिसाबबाट एक भाटा सैनिक प्रहरी अमल्दार विक्रम गाहा मगरलाई हान्न लगाई सबैलाई लाइनमा सुत्न पठाएको थिएँ। 

सबै आ-आफ्नो कोठामा गए। तर, अमल्दार नमराज माझी भने त्यहीँ बसी ‘थप कुरा गर्नुछ’ भनी आवेशमा आएर मुख छाड्न तथा आक्रोश व्यक्त गर्न थाल्यो। त्यसपछि निजलाई सम्झाई-बुझाई गरी लाइनमा सुताउन लैजान खोज्दा हातपात गरेकाले उक्त समयमा पदीय कर्तव्य पालना गर्दा आवेशमा आई आपराधिक हिसाबले नभई, क्षति नहुने हिसाबबाट सबक सिकाउन मैँले एक पटक पाइपले निजको पुठ्ठामा हानेको हुँ। 

तत्पश्चात् निजलाई कार्य पदिक र कार्य हुद्दाको जिम्मा लगाई सुत्न पठाइएकोमा निज अमल्दार पुनः ११ : ३० बजे जर्बजस्ती मेरो कोठामा ‘कुरा गर्नुछ’ भन्दै छिर्‍यो। तर, मैले निजलाई ‘भोलि बिहान भेटी कुरा गरौँला’ भनी सम्झाई-बुझाई प्युठ जितबहादुर थारुको जिम्मा लगाएर पठाएँ। 

सह-सेनानी सुवास हुमागाईंले दिएको बयानः

असोज ८ गते बेलुका करिब १० बजे हाम्रो कोठामा दुई जना सैनिक प्रहरी जवानहरू आए। जवान लाइनमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरेकोमा सम्झाउन नसकेको साथै अधिकांश टोली इन्जिनियर से.मु.को रहेको भनी रिपोर्ट भयो। थाहा पाए पश्चात् म ड्युटी अधिकृतको हैसियतले, सहसेनानी इन्द्र बहादुर थापा सैनिक प्रहरी अधिकृतको हैसियतले र सह–सेनानी योगेन्द्र धिताल सम्बन्धित से.मु.पतिको हैसियतले उक्त लाइनतर्फ 'मुभ' भयौं। 

उक्त स्थानमा पुग्दा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार नमराज माझी, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारु मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडेको  पाइयो। 

मादक पदार्थ सेवन गरेको पत्ता लगाउन मेडिकलमा कुनै पनि उपकरण नरहेको हुँदा सैनिक प्रहरी जवानहरुलाई मुख सुँघ्न लगाई पत्ता लगाउने काम भयो। 

निज अमल्दारसँग कुनै पनि व्यक्तिगत रिसइबी थिएन र घाइते बनाउने हेतु नभएकाले पुठ्ठामा हानेको हुँ। 

सो कुरा पत्ता लगाउँदा सैनिक प्रहरी अधिकृतले केही भिडियो समेत उतार्नु भयो। सबै हो-हल्ला गर्ने जवानहरुलाई एकै ठाउँमा भेला गरी मैले कार्य पदिक तथा कार्य हुद्दालाई रेडियो सेटबाट उक्त स्थानमा बोलाएँ। सामेल भएका सबै जनालाई 'बेन पोजिसन'मा जान भनियो। तर, अमल्दार नमराज माझी भने जान सक्ने अवस्थामा नभएको पाइयो। 

उक्त अवस्थामा सबै जवानहरु मुखमुखे लाग्ने, जवाफ फर्काउने जस्ता गतिविधि गर्न थालेपछि सबक सिकाउन गणको सैनिक प्रहरीलाई १-१ लठ्ठी हान्न लगाइयो। तत्पश्चात् सैनिक प्रहरीलाई सबै जनाको नाम टिप्न लगाएर लाइनमा सुत्न पठाइएको थियो। 

उक्त अवस्थामा अरु जवानहरु लाइनमा सुत्न गएको तर अमल्दार नमराज माझी भने अटेर गरी मुखमुखै लाग्ने, कहिले आक्रामक व्यवहार देखाउने जस्ता कार्य गर्दा निज अमल्दारलाई कुनै हानी/क्षति नहुने गरी सबक स्वरुप लठ्ठीले पुठ्ठामा हानेको हो।

निज अमल्दारसँग कुनै पनि व्यक्तिगत रिसइबी थिएन र घाइते बनाउने हेतु नभएकाले पुठ्ठामा हानेको हुँ। 

सह-सेनानी योगेन्द्र धितालले दिएको बयानः 

असोज ८ गते करिब १० बजे इन्जिनियर टोलीहरू मादक पदार्थ सेवन गरी सम्हाल्न नसक्ने अवस्थामा रहेको भनेर सैनिक प्रहरी अमल्दार निरज खनाल र अमल्दार विक्रम गाहा मगरले हामीलाई रिपोर्ट गरे। त्यसपछि मलगायत सहसेनानी सुवास हुमागाई र सैनिक प्रहरी अधिकृत इन्द्रबहादुर थापा र रिपोर्ट गर्न आएका दुई सैनिक प्रहरी इन्जिनियर जवान लाइनतिर गयौं।

त्यसपछि तीनै जना (सहसेनानीहरू धिताल, हुमागाईं र थापा) ले एक–एक पाइपले हानेको हो। 

त्यहाँ पुग्दा अमल्दार नमराज माझी, अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, प्युठ जितबहादुर थारू र अमल्दार प्रताप बिसुराल हल्ला गरिरहेका थिए। उनीहरुलाई सैनिक प्रहरी लगाई मुख सुँघ्न लगाउँदा मादक पदार्थ सेवन गरेको पाइयो। 

हामीले बेन पोजिसनमा जान आदेश दिँदा अरुले आदेश माने। तर अमल्दार नमराज माझीले मानेनन्। सोही समयमा गण कार्य हुद्दा र कार्य पदिकलाई पनि बोलाइयो। सबैको अगाडि सैनिक प्रहरीले चेक गर्दा मादक पदार्थ सेवन गरेको पाइयो। 

अमल्दार नमराज माझीले हामीलाई गाली गरी आक्रमण समेत गरेका थिए। सोही समयमा माझीलाई सैनिक प्रहरीबाट बल प्रयोग भयो। त्यसपछि सो टोलीको नाम टिपी सैनिक प्रहरीलाई जिम्मा लगाई सुत्न पठाउँदा अरु सबै सुत्न गए तर अमल्दार माझी हामीलाई अपशब्द प्रयोग गर्न थाले। सुत्न जान अटेर गरे।

त्यसपछि तीनै जना (सहसेनानीहरू धिताल, हुमागाईं र थापा) ले एक–एक पाइपले हानेको हो। त्यसपश्चात् अमल्दार माझीलाई कार्य पदिक र कार्य हुद्दाको जिम्मा लगाई पुनः सुत्न पठायौं। अनि, हामी तीनै जना रुममा फर्कियौं। 


बयानको तथ्यमाथि प्रश्न

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्। 

तर, तीनै जनाले मादक पदार्थ खाएर हो–हल्ला गरेका कारण सबक सिकाउन पिटेको बयान दिएका छन्। उनीहरुको यो बयान कुटाइ खाने पाँचै जना सैनिकले दिएको बयानसँग मेल खाँदैन। अमल्दार माझीले त्यस रात तीन जना अधिकृतले भनेजस्तै हो–हल्ला गरेको स्वीकारेका छैनन्।

अर्को कुरा, यस बयानमा सहसेनानी इन्द्र थापाले दुई सैनिक प्रहरी रिपोर्ट गर्न आएको भनिएको समय सहसेनानी योगेन्द्र धिताल र सुवास हुमागाईको समयसँग मिल्दैन। थापाले साढे १० बजे भनेका छन्। तर धिताल र हुमागाईले १० बजे मात्रै भनेका छन्। 

अभियोगपत्र दर्ता गर्दा कुटिने खाने नमराज माझीलाई अभियुक्त बनाएको पाइँदैन। तर, अदालतले उनलाई पनि दोषी देखेर नसिहत दिने फैसला गर्‍यो।

त्यस्तै सबै जनाले अमल्दार माझीलाई सबक सिकाउनका लागि एक-एक पटक मात्रै हिर्काएको बयान दिएका छन्। जबकी त्यतिबेला मेडिकल वार्डमा काम गर्ने सिपाही सुजन पौडेल भन्छन्, ‘माझी मेडिकलमा ल्याइँदा गम्भीर अवस्थामा थिए। उपचार नपाएर छटपटाइरहेका थिए, रोइरहेका थिए।’ 

मिडियामा सार्वजनिक भएको निलडामसहितको यो तस्बिरले पनि उनलाई कसरी कुटिएको थियो, त्यो छर्लङ्गै हुन्छ। त्यसकारण पनि तीन सैनिक अधिकृतको बयानको सत्यतामाथि छानबिन टोलीले सहजै विश्वास गर्नुपर्ने आधार देखिँदैन। 

‘तर, तत्कालीन कंगोस्थित ज्वालादल गणका गणपति शैलेन्द्र कोइराला नै कुट्ने सैनिक अधिकृतलाई जसरी पनि जोगाउने पक्षमा थिए, त्यहीअनुसार सेटिङमा ‘सफ्ट बयान’ दिन लगाइयो,’ तत्कालीन समयमा गणमै रहेका एक सैनिक अधिकृत दाबी गर्छन्, ‘खासमा त्यस दिन कुटपिट गर्ने तीनै जना सैनिक अधिकृतले मादक पदार्थ सेवन गरेका थिए। तर, गणपतिको संरक्षणकै कारण त्यो कुराको कहीँकतै परीक्षण नै भएन।’

यही कारण कुटपिट स्वीकार गर्दागर्दै, कुटपिटबाट अमल्दार माझी गम्भीर घाइते भएको प्रमाण हुँदाहुँदै समरी जनरल सैनिक अदालतले तीनै जना सैनिक अधिकृतलाई सामान्य कारबाही गरेर उन्मुक्ति दियो। 

समरी अदालतले पुस १४ गते गरेको फैसलाले कुटपिट गर्ने तीन जना सैनिक अधिकृत थापा, हुमागाई र धिताललाई १ वर्षलाई बढुवा रोक्का गर्ने फैसला गर्‍यो। जबकि उनीहरू करिब ५ वर्षसम्म बढुवा हुने अवस्थामै थिएनन्। 

सैनिक श्रोतको दाबीअनुसार बढुवा रोक्का उनीहरुका लागि देखावटी कारबाही मात्रै थियो। त्यसबेला ५१ र ५२ बेसिकका अधिकृतहरू करिब ५ वर्षसम्म बढुवा हुने अवस्था नभएको स्रोत बताउँछ। यद्यपि बढुवा रोक्का भएकै अवस्थामा उनीहरुलाई मेजर हुनुअघि लिनुपर्ने सीसीएसी (कम्पनी कमाण्डर एन्ड स्टाफ कोर्स) गर्न सैनिक वार कलेज नगरकोट पठाइयो। ‘यो अदालतको आदेशको मर्मविपरीत थियो। तर कसैले केही बोलेन,’ एक सैनिक अधिकृत भन्छन्।

अभियोगपत्र दर्ता गर्दा कुटिने खाने नमराज माझीलाई अभियुक्त बनाएको पाइँदैन। तर, अदालतले उनलाई पनि दोषी देखेर नसिहत दिने फैसला गर्‍यो।

मिडिया नीतिविपरीत कार्य गरेर कुटपिटको खबर मिडियामा त्यतिबेला चार सिपाहीमाथि कोर्ट मार्सल चलेको थियो। जसमध्ये तीनलाई बढुवा रोक्काको सजाय दिइयो। तर एक सिपाही सुजन पौडेललाई भने जागिर बर्खास्तीसँगै ६ महिना जेलको ‘चर्को सजाय’ नै तोकियो।  

अदालतले कुटपिट गर्ने हाकिमलाई उन्मुक्ति दिँदै जसरी एउटै मुद्दामा फरक–फरक फैसला गर्‍यो, त्यो न्यायको एकरुपता विरुद्ध रहेको टिप्पणी अहिले पनि भइरहको छ। 

कुट्ने हाकिमलाई उन्मुक्ति तर निर्दोष सिपाहीलाई किन जेल सजाय, प्रश्न आज पनि उठिरहेकै छ। कंगोको यो कुटपिट प्रकरणमाथि पुनः 'कोर्ट अफ इन्क्वायरी' गठन भएर निष्पक्ष छानबिन हुनुपर्ने माग पनि उत्तिकै भइरहेको छ। सँगसँगै जंगी अड्डातिर गम्भीरसाथ तेर्सिरहेको अर्को प्रश्न यो पनि हो,‘अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा अघिल्लो प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा भएका गल्तीको पुनर्समीक्षा गर्ने मुडमा छन् त?’  

(कंगो मिसनबारे हामी निरन्तर फलोअपमा छौँ। नेपाल समय पढ्दै गर्नुहोला।)

कंगो मिसन-५ जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन


घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।...

कंगो मिसन-४ : सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

तीन सैनिक अधिकृतको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो।... 

कंगो मिसन-३ : कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने


 'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'...

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो।...

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

प्रकाशित: Sep 23, 2021| 19:10 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्