मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • श्रृंखला
  • जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

नेपाल समय
कंगो मिसन-५

जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

अनिल यादव  |  काठमाडौं, मंगलबार, असोज ५, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, असोज ५, २०७८

काठमाडौं- २०७७ असोज ८ गते राति कंगोस्थित नेपाली सेनाको ज्वालादल गणमा सैनिक अमल्दार नमराज माझीमाथि 'निर्मम' कुटपिट भएको विषय मिडियामा सार्वजनिक भयो। यो घटनामा कसरी छानबिन भयो, कुटपिट गर्ने 'हाकिम'लाई कसरी उन्मुक्ति दिइयो, निर्दोष सिपाहीलाई कसरी चर्को सजाय गरियो? यसबारे हामीले शृंखलाको अघिल्लो भागमा चर्चा गरिसक्यौं।

असोज ८ गतेको रात अमल्दार माझीसँगै तीन अमल्दार र एक प्यूठमाथि पनि ’निर्मम’ कुटपिट भएको थियो। कुटिनेहरुमा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारू थिए। शृंखलाको अघिल्लो भागमा कुटिएका माझीको बयान पहिलोपल्ट बाहिर ल्यायौं।

प्रमुख सेनानी क्षेत्रबहादुर मल्लको अध्यक्षतामा गठन भएको 'कोर्ट अफ इन्क्वायरी'सँग त्यतिबेला कुटिने पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सह–सेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। थापा, हुमागाईं र धितालले पनि कुटपिट गरेको स्वीकारेका थिए।

‘कोर्ट अफ इन्क्वायरी’को प्रतिवेदनपछि त्यतिबेला कुटपिटमा संलग्न तीन जना सहसेनानीसहित मिडियामा खबर पुर्‍याएर सेनाको मिडिया नीति विपरीत कार्य गरेको आरोपमा अन्य चार जना गरी सात जनालाई सेनाको अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।

त्यसपछि सहायक रथी दीपेशजंग शाहको अध्यक्षतामा महासेनानी रुपेन्द्र बुढाथोकी, प्रमुख सेनानी भुपेन्द्र गोदार र प्राड प्रमुख सेनानी सम्झना थापा (अर्याल) सदस्य रहेको समरी जनरल सैनिक अदालतले अदालत गठन भएको थियो। धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरूलाई न्याय देला। तर, परिणाम अनपेक्षित निस्कियो।

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। ‘केही भएको छैन’ योभन्दा बढी जवाफ नदिनु भन्ने उर्दी हुन्थ्यो। 

तीन सैनिक अधिकृतले गरेको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। समरी अदालतले पुस १४ गते गरेको फैसलाले कुटपिट गर्ने तीन जना सैनिक अधिकृत थापा, हुमागाईं र धिताललाई १ वर्ष बढुवा रोक्का गर्ने फैसला मात्रै गर्‍यो। जबकि उनीहरू करिब ५ वर्षसम्म बढुवा हुने अवस्थामै थिएनन्।

कुटाइ खाने नमराज माझी, जो अभियोगपत्रमा प्रतिवादी नै बनाइएका थिएनन्, तर उनलाई पनि नसिहत दिने फैसला भयो। सँगसँगै कुटपिटको खबर मिडियामा खबर पुर्‍याएर संगठनको बदनाम गरेको आरोपमा मेडिकल वार्डका सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो– बर्खास्तीसँगै ६ महिना जेल। 

कुटपिट भएको रात त्यस रात के भएको थियो? पत्रिकालाई खबर दिएको आरोपमा सुजनलाई कतिसम्मको यातना दिइयो? 

पढौँ, सुजनले नेपाल समयसँग सुनाएको पीडामिश्रित अनुभुति जस्ताको त्यस्तैः 

कंगोमा रहँदा मेडिकल वार्डमा मेरो ड्युटी थियो। २०७७ असोज ८ गते राति कुटपिटको घटना भएछ। मेडिकल लाइन अलि परै थियो। त्यसैले केही थाहा भएन। 

त्यस दिन मेरो नाइट ड्युटी थिएन। त्यसैले म सुतिरहेको थिएँ। भोलिपल्ट बिहान म ड्युटीमा रहेका बेला एक्कासी सैनिक अमल्दार नमराज माझीलाई अचेत अवस्थामा मेडिकल लिएर आइयो। ऊ हिड्न सक्ने अवस्थामा थिएन, बोकेर ल्याइएको थियो।

मैले तत्काल डा सुमन थापालाई ‘यस्तो खाले बिरामी आएको छ’ भनेर रिपोर्ट गरेँ। तर, डा’साब आउनुभएन। नआएपछि फेरि पनि बोलाउनका लागि त्यहाँका सिनियर प्राविधिक सुवेदारलाई आग्रह गरेँ। सुवेदार सा’बले अनुरोध गर्दा पनि उहाँ आउनुभएन। 

घरमा निकै तनाव भयो। घरमा श्रीमती, ६ वर्षको छोरा, बुबाआमा हुनुहुन्थ्यो। सबै आत्तिनुभएको थियो। तर, उहाँहरूलाई केही थाहा हुन सकेन। 

डा. नआएपछि मलाई एकदमै नरमाइलो लाग्यो। त्यही माथि विदेशको ठाउँ। मिलेर बस्नुपर्नेमा उल्टै त्यस्तो निर्मम तरिकाले कुटिएको थियो। उसको ज्यानको रिस्क देखेँ। ‘म मर्छु’ भनिरहेको थियो। त्यसपछि मैले अरु सबै कुरा बिर्सिएँ त्यतिबेला। मानवीय दृष्टिले मात्रै सोचेँ। 

डाक्टरकै आदेश अनुसार ‘भोलि तल माथि भयो भने चाहिन्छ’ भनेर साथी सोवित बराल (सिपाही)ले नमराजको कुटपिटपछि भएको घाउको फोटो खिचेको रहेछ। ड्युटी बुझाउने बेलामा उसले त्यो फोटो मलाई दियो। 

मैले त्यही फोटो उसको जीवनरक्षाका खातिर दबाब सिर्जना हुन्छ कि भन्ने अपेक्षा राखेर जनआस्था साप्ताहिक र जनप्रहार साप्ताहिकलाई कुटपिट भएको घटनाबारे अर्कै फेसबुक आइडीमार्फत् म्यासेन्जरमा लेखेर पठाइदिए। मेरो उद्देश्य संगठनलाई बदनाम गर्ने भन्ने छँदै थिएन, साथीको ज्यानका खातिर मानवीयताका हिसाबले त्यसो गरेको थिएँ। 

कुटपिट असोज ८ गते राति भएको थियो। मैले असोज ९ गते साँझ मात्रै पत्रिकालाई म्यासेज गरेको हो। २४ घण्टासम्म पनि उसको उपचार भइरहेको थिएन। कोही अफिसरले वास्ता गरिरहेका थिएनन्। न सान्त्वना दिन नै कोही आयो। ऊ बेडमै छटपटाइरहेको थियो, रोइरहेको थियो। मलाई निकै नराम्रो लागेर मैले त्यो सूचना मिडियामा पुर्‍याएको हुँ। त्यसकै प्रतिफल मलाई जागिरबाट बर्खास्त र ६ महिना जेल सजाय तोकियो। तर, तीन जना नमराजलाई कुट्ने सैनिक अधिकृतलाई भने बढुवा रोक्का मात्रै गरेर उन्मुक्ति दिइयो।

कुटाइ खाने साथी नमराज माझी अहिले पनि जागिरमै छ। उसलाई थर्काएर 'केही बोलिस् भने बाँकी राख्दिनँ' भनेर थामथुम गरिएछ। त्यसपछि ऊ मौन बस्यो। धेरै बोल्न सकेन। 

यातनाको त कुरा गरेर साध्य छैन, सम्झिँदा पनि मन कुँडिन्छ। असोज ९ गते समाचार बाहिर आएपछि १० गतेबाट मलाई सैनिक हिरासतमा राखियो। टिनको छानो भएको सानो कोठामा थुनिएको थियो। त्यहीँ माथि कंगोको त्यस्तो चर्को गर्मी। न पंखा थियो। छेउमा भान्सा थियो। भान्साको पानी रसाएर मलाई राखेको भुइमा आइपुग्थ्यो। 

भुईंमा ओछ्याउन मलाई सानो फोम दिइएको थियो। त्यही ओछ्याएर दुई दिनसम्म सुतेँ। तेस्रो दिनबाट बिरामी भएँ। 

धम्की उस्तै आउँथ्यो। म हिरासतमै थुनिएका बेला बाहिर आर्थिक अनियमितताको प्रसंग पनि आएछ। तेस्रो दिनदेखि म बिरामी भएँ। निकै गाह्रो भयो। भमिट भयो। ‘मेडिकल जान्छु’ भनेँ। तर, मेडिकल जाने अनुमति छैन भन्दै त्यहाँ मलाई दुश्मनको जस्तो व्यवहार गरियो।

मेजर सिस्टर हुनुहुन्थ्यो एकजना। उहाँले त्यहाँ आएर ‘यो मान्छे बिरामी छ, मेडिकल लिएर जानुपर्छ’ भनेर भन्नुभयो। उहाँलाई पनि उल्टै थर्काइयो, लान दिइएन।

यसरी एक महिना जति मलाई कंगोकै हिरासतमै राखियो। हतियार र खुकुरीसहित मेरा लागि मेरै साथीहरु ड्युटी बस्थे। साह्रै रुन मन लाग्थ्यो। घर परिवारभन्दा टाढा आएको थिएँ। हामी सिपाहीका लागि पैसा कमाउने अवसर भनेकै यस्तै मिसन त हो। त्यही सम्झिएर आएको थिएँ। 


 तर, हिरासतको कोठरीमा बन्द हुन पुगेँ। त्यस रात नमराजलाई मात्रै हैन, धेरैलाई कुटिएको थियो। कोत गार्डको ड्युटी गरेको मान्छेलाई पनि कुटिएको थियो। अन्धाधुन्ध कुटिएको थियो। सन्की टाइपको हुनुहुन्थ्यो, क्याप्टेन सा’ब। अलिकति गल्ती हुनुभएन, पिटिहाल्ने स्वभाव थियो। 

सेनामा चेन अफ कमान्ड त हुन्छ, तैपनि साह्रै हदै गर्नुहुन्थ्यो। त्यस रात धेरै घाइते भएका थिए कुटिएर। तर, जागिर जाने डरले कोही बोल्न सकेनन्, बोल्न दिइएन। 

कुटाइ खाएलगत्तै त्यहाँ 'कोर्ट अफ इन्क्वायरी' भएको थियो। धेरैले कुटाइ खाएको बयान दिएका थिए। धेरैका शरीरमा सुम्ला थिए। तर, मिडियामा केही बाहिर आएन। गुपचुपमै मिल्यो।

नमराजलाई कुट्ने सहसेनानी इन्द्र थापा सरले मलाई पनि कंगोमै हुँदा कुट्नुभएको थियो, त्यसअघि। पछि त्यसैलाई इस्यू बनाइयो। मैले बदलाको भावनाले नमराजको फोटो मिडियामा दिएको आरोप लगाइयो।

सबैलाई सामान्य कारबाही गरेर छाडियो। तर म एक जनालाई मात्रै जागिरबाट बर्खास्त गर्ने र ६ महिना जेल सजाय गर्ने निर्णय भयो। सुन्छु, त्यतिबेला मलाई त्यो सजाय दिन माथिकै दबाब थियो। हो/होइन, थाहा छैन। 

त्यस रात क्याप्टेन सा’बहरु मादक पदार्थ सेवन गरेर बसिरहेका बेला दुई सैनिक प्रहरीहरू त्यहाँ पुगेछन्। जवान लाइनमा केटाहरु कोठा थुनेर नाचिरहेका छन् भनेर रिपोर्टिङ भएछ। मादक पदार्थ सेवन गरिरहेकै ठाउँबाट त्यहाँ पुगेर उनीहरुलाई कुटिएको भन्ने कुरा त्यतिबेला उठेको थियो। तर, यसको प्रमाण चाँहि भएन। 

पछि बयानमा त सबै ट्वाइलेट गइरहेका बेला बोलाएर कुटिएको भन्ने छ। एकैपटक सबै ट्वाइलेट गएको हो/होइन, त्यो पनि म भन्न सक्दिनँ। 

कुटाइ खाने साथी नमराज माझी अहिले पनि जागिरमै छ। उसलाई थर्काएर 'केही बोलिस् भने बाँकी राख्दिनँ' भनेर थामथुम गरिएछ। त्यसपछि ऊ मौन बस्यो। धेरै बोल्न सकेन। 


बयान लिँदा म हिरासतमै थिएँ, ऊ बाहिर थियो। बयान पनि छुट्टाछुट्टै लिइएको थियो। त्यसैले के–कसरी लिइयो म भन्न सक्दिनँ। तर, यथार्थ उसले भन्न सकेन, यसमा म प्रष्ट छु। 

मलाई एक महिना कंगोका सैनिक हिरासतमा राखेपछि नेपाल पठाइयो। नेपाल ओर्लनासाथ एयरपोर्टबाटै सैनिक प्रहरीले मलाई पक्राउ गर्‍यो। मसँगै आर्थिक अनियमितताको खबर बाहिर ल्याएको आरोपमा पक्राउ पर्नुभएका क्याप्टेन कुमार गुरुङ सा’ब पनि हुनुहुन्थ्यो। कंगोमा तेल काण्डमा टपेन्द्र पुनः भन्ने साथीको जागिर खाइएको थियो। हामी तीनै जनालाई एउटा गाडीमा हालेर सिधैँ जंगी अड्डाभित्र रहेको सैनिक प्रहरी गणमा नजरबन्दमा राखियो।

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन’ योभन्दा बढी जवाफ नदिनु भन्ने उर्दी हुन्थ्यो। 

घरमा निकै तनाव भयो। घरमा श्रीमती, ६ वर्षको छोरा, बुबाआमा हुनुहुन्थ्यो। सबै आत्तिनुभएको थियो। तर, उहाँहरूलाई केही थाहा हुन सकेन। 

करिब डेढ महिना मलाई त्यहाँको हिरासतमा राखियो। दुईपल्ट सैनिक अभियोजन महाशाखामा लगिएको थियो। त्यहाँ साम्बराज अर्याल नामको कर्सा’ब हुनुहुन्थ्यो। उहाँले ‘तैले नराम्रो काम गरेको छस्, अरू देशमा भए तलाई फाँसी हुन्थ्यो, तँ सेनाविरुद्ध लाग्ने?’ भन्दै मलाई थर्काउनुभएको थियो।

समरी अदालतमा गएका बेला न्यायाधीश रहनुभएका जर्सा’बले पनि साह्रै नराम्रो गरी गाली गर्नुभएको थियो। अदालतमा त्यतिबेला आर्थिक अनियमितताको सूचना चुहाएको अभियोगमा मुद्दा दर्ता गरिएका क्याप्टेन सा’बहरु पनि जानुभएको थियो। उहाँहरुलाई पनि दीपेशजंग शाह न्यायाधीश सरले साह्रै नराम्रोसँग गाली गर्नुभएको थियो। ‘तँ चाँहि पछि कमाउन जाँदैनथिस्, तेरो पालो आउँदैन थियो? अरुले खाएको बेला त्यसरी बोलिस्’ भन्दै कोर्टमै उहाँहरुलाई गाली गरेको अझै मेरो कानमा गुन्जिरहन्छ। 

२४ घण्टासम्म पनि उसको उपचार भइरहेको थिएन। कोही अफिसरले वास्ता गरिरहेका थिएनन्। न सान्त्वना दिन नै कोही आयो। ऊ बेडमै छटपटाइरहेको थियो, रोइरहेको थियो। 

मैले त साथीको हालत एकदमै गम्भीर देखेर त्यो खबर मिडियामा पठाएको थिएँ। गणभित्र कसैले घाइते साथीको छटपटाहट र आँसुलाई नसुनेपछि मैले त्यसो गर्नु उचित ठानेको थिएँ। लागेको थियो, यो खबर मिडियामा आएपछि हेडक्वार्टरबाट उपचारका लागि दबाब आउन सक्छ। मैले त एउटा सैनिक साथीको मानव अधिकारको रक्षाका खातिर त्यो काम गरेको थिएँ। यसो गर्दा मेरै जागिर जाला, मलाई नै यातना होला, मलाई नै जेल हालिएला भन्ने त मैले कल्पनासम्म गरेको थिइनँ। 

करिब साढे तीन महिना सैनिक हिरासत बसेपछि अदालतको फैसला भयो। सबैलाई सामान्य कारबाही गरेर छाडियो। तर म एक जनालाई मात्रै जागिरबाट बर्खास्त गर्ने र ६ महिना जेल सजाय गर्ने निर्णय भयो। सुन्छु, त्यतिबेला मलाई त्यो सजाय दिन माथिकै दबाब थियो। हो/होइन, थाहा छैन। 

कारागार लगिएपछि मात्रै मेरो परिवारसँग भेट हुन पायो। करिब १५–२० दिन कारागारमा बसेपछि म जेलमुक्त भएँ, पैसा तिरेर। ६ महिनासम्मको जेल सजायमा पैसा तिरेर सजाय किन्न पाउने नियम रहेछ। सिपाहीमा जागिर खाने भनेकै गरिबका छोराहरू त हुन्। तैपनि त्यतिबेला मलाई बुबाआमाले ४५ हजार पैसा तिरेर जेलबाट निकाल्नुभयो। त्यसरी ०७५ चैतको अन्त्यतिर म जेलमुक्त भएको थिएँ। 

मैले सेनामा जागिर खाएको करिब १४ वर्ष भएको थियो। 'देशका लागि लड्छु, देशको सेवा गर्छु' भन्ने अठोटका साथ सेनामा भर्ती भएको थिएँ। मिसनमा जाँदा पनि दोहोरो गोली चल्थ्यो। तर पनि कहिल्यै पछि हटिएको थिइनँ। सधैँ संगठनको हित नै सोचियो। तर, साथीको चोट सहन नसक्दा आज मैमाथि अन्याय भयो। 

मेरो सामाजिक प्रतिष्ठामा पनि ठूलो आँच पुग्यो। गाउँघरतिर आज पनि मलाई ‘यसले केही फटाइँ गर्‍यो, त्यही भएर त जागिर गयो होला’ भन्ने ठान्छन्। कसले बुझोस् मेरो मनको पीडा। बेरोजगार भएर घरमा थन्किएको छु। 

तैपनि न्याय पाइएला कि भन्ने आशा मरेको छैन। त्यही कारण समरी अदालतको फैसलाविरुद्ध सैनिक विशेष अदालतमा पुनरावेदन गरेको छु। 'मेरो न्यायका खातिर मानव अधिकारवादी, बुद्धिजिवी, अन्तराष्ट्रिय संघ/संस्था, पत्रकार सबैले बोलिदिउन्' भन्ने लागिरहन्छ। तर, कहाँ जाने? कसलाई भन्ने? केही थाहा छैन। 

फेरि पनि भन्छु- ‘ममाथि अन्याय भयो, न्याय दिइयोस्। अनि, मेरो गुमेको सामाजिक प्रतिष्ठा फिर्ता गरियोस्।’

(कंगो मिसनबारे हामी निरन्तर फलोअपमा छौँ। नेपाल समय पढ्दै गर्नुहोला।)

कंगो मिसन-४ : सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

तीन सैनिक अधिकृतको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो।... 

कंगो मिसन-३ : कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने


 'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'...

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो।...

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, असोज ५, २०७८

थप समाचार

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’

५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं’

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।

सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

सैनिक श्रोतका अनुसार यो चर्को फैसला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सिधा दबाबमा भएको थियो। आफ्नो कार्यकालमा यस्तो निर्मम कुटपिटको खबर मिडियामा आएपछि उनले आफ्नै बेइज्जती महसुस गरेका थिए। त्यसैले उनी कुटपिट गर्ने भन्दा पनि कुटपिटको खबर मिडियामा चुहाउने पौडेलसँग बढी रिसाएका थिए।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C