कोरोना भाइरस नियन्त्रणमा जर्मनीले गरेको धेरै हदसम्मको सफल संंघर्षको श्रेय भाइरस विशेषज्ञ क्रिस्टियान ड्रोस्टेनलाई दिइएको छ। उनका अनुसार आउँदै गरेको जाडोयाम कोरोनाका कारण हाम्रा लागि सजिलो हुने छैन। महामारीबाट उत्पन्न स्थितिमा हाम्रा सामु नयाँ चुनौती कस्ता हुनेछन् र त्यसको कसरी सामना गर्ने भन्नेबारे जर्मन पत्रिका डोयचे वेलेमा प्रकाशित उनको अन्तर्वार्ताको मुख्य अंंश :
हामी अझै कति दिन यो महामारीसँगै बाँच्नुपर्ने हुन सक्छ?
यसै भन्न गाह्रो छ। युरोपमा देशैपिच्छे बेग्लाबेग्लै स्थिति छ। तर आउँदै गरेको जाडोयाम सजिलो हुने छैन। किनभने कुनै भ्याक्सिन अर्को वर्ष (सन् २०२१) सम्म मात्र बनिसक्ला। त्यो भ्याक्सिन एउटा ठूलो जनसंंख्यासम्म पुग्न अझै एक वर्ष लाग्न सक्छ।
त्यसैले हामीले मास्कबाट चाँडै छुटकारा पाउने देखिँदैन। भलै आगामी पाँच महिनापछि खोप लगाउन सुरु होला। तर, विश्वको ठूलो जनसंख्यामाझ भ्याक्सिन पुग्न समय लाग्ने भएकोले एउटा ठूलो हिस्साले मास्क लगाइरहन पर्नेछ। जर्मनी र युरोपका अन्य देशमा जहाँ संक्रमणको दर कम छ, त्यहाँ पनि सम्पूर्ण जनसंख्या सुरक्षित हुन सक्दैन।
विश्वको एउटा ठूलो हिस्साबारेमा अहिल्यै केही भन्न सकिने स्थिति छैन। अफ्रिकामा यसको प्रकोप कम छ। सायद त्यहाँको जनसंख्याको ठूलो हिस्सा युवा हुनु यसको कारण हुन सक्छ। र, जुन तथ्यांक हामीसँग छ, त्यो सहरको मात्रै हो। गाउँ देहातमा भाइरसको असर कस्तो छ हामीलाई थाहा छैन।
विश्वको कुन भागप्रति तपाईंं बढी चिन्तित हुनुहुन्छ?
भारतप्रति सबैभन्दा धेरै चिन्ता छ। त्यहाँको जनसंख्या निकै ठूलो छ। त्यसैले त्यहाँ भाइरस अनियन्त्रित तरिकाले फैलँदो छ। यसपछि दक्षिणी अमेरिका र अफ्रिकालाई लिएर पनि म चिन्तित छु।
उत्तरी गोलार्धमा अब चिसो मौसम आउँदै छ। केही देशमा पतझड सुरु भइसकेको छ। र, स्वास्थ्य प्रणाली र पूर्वाधारप्रति मानिसको विश्वास कम हुँदै छ। कैयन् युरोपेली देशलगायत विश्वमा यस्ता देश पनि छन् जहाँ चाँडै कडा उपाय लागू गरिनु जरुरी छ।
जर्मनीले कसरी स्थिति नियन्त्रणबाहिर जान दिएन?
यहाँ धेरै स्तरमा काम गरियो। सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ जर्मनी सुरुमै क्रियाशील भयो। सामाजिक दूरीको नियम सुरुमै लागू गरियो। परीक्षण व्यापक बनाउने मामिलामा पनि जर्मनी अन्य देशभन्दा फरक रह्यो। हामीले प्रयोशालाको स्तरवृद्धिका लागि बडो फूर्तिका साथ कदम उठायौं।
अर्को कारण त हामीकहाँ कोभिड– १९ ढिलो गरी आइपुग्यो। बाहिरबाट आएका जति पनि ‘केस’ थिए ती फरबरीको अन्तिमसम्म महामारीको कारण बनिसकेका थिएनन्।
हामीले बाहिरबाट आएका ‘केस’ नियन्त्रित गर्न सफल भयौं र संक्रमणलाई तीव्र रूपमा फैलिन दिएनौंं।
यी केही कारण हुन जसले हाम्रो प्रयास कसरी सफल रह्यो भन्ने बताउँछन्। लकडाउनपछि त जर्मनीमा संक्रमण दर निकै कम रह्यो। लकडाउन अवधिलाई अस्पतालको स्तर र प्रयोगशालाको स्तर सुधारमा केन्द्रित गर्दा अहिलेसम्म स्थिति नियन्त्रणमै छ। यद्यपि, पछिल्लो समय संक्रमण केही बढेको देखिन्छ।
संक्रमणबाट बच्न कस्तो कदम उठाउनुपर्छ?
पहिलो त मास्क लगाइरहनुहोस्। मास्कले संंक्रमण फैलनबाट रोक्छ भन्ने कुरा वैज्ञानिक रूपमै प्रमाणित भइसकेको छ। दोस्रो, यो भाइरस कसरी फैलिन्छ भन्ने बारे सबैले पूर्ण जानकारी पाउनुपर्छ। आम मानिसले बुझ्न नसक्ने नियम लागू गर्नु मात्र पर्याप्त हुँदैन।
अब फेरि कहिले एकआपसमा अंगालो हाल्न पाइएला?
अर्को वर्ष लाग्दानलाग्दै विश्वका केही ठाउँमा यस्तो अवस्था आउला भन्ने अपेक्षा गर्न सकिन्छ। मानिस महामारीको त्यो चरणमा प्रवेश गर्नेछन् जहाँ कम उमेरकाहरू आत्तिनु पर्ने अवस्था रहने छैन, विशेषगरी अफ्रिकी देशमा।
अर्कोतिर, जुन भागमा व्यापक संक्रमण फैलिरहेको छ र, मानिस भ्याक्सिनको पर्खाइमा छन्, त्यहाँ सन् २०२१ को अन्तसम्ममा (अर्को वर्षको पुससम्ममा) मास्क लगाउने पर्ने हुन सक्छ। एकापसमा अंगालो हाल्न अझै एक वर्ष कुर्नुपर्छ।