पोखरा- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कम्युनिष्ट नेताहरुको सम्पत्तिमाथि प्रश्न उठाएका छन्। उनले नेपालका नेताहरु सत्तामा पुगेको दुई वर्ष पनि नपुग्दै अर्बपति हुनु आश्चर्यजनक भएको बताए। नेपालका नेताहरुको जीवनशैली र रवाफले आफूलाई यस्तो लागेको उनको भनाइ थियो ।
बुधबार पोखरामा आफ्नो विद्यार्थी मोर्चा, अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘दुईसय वर्षसम्म शासन गरेका पुर्व राजाको सम्पत्ति हुनु स्वभाविक हो, तर सत्तामा पुगेको दुईवर्ष पनि नपुग्दै नेपाली नेताहरु अर्बपति बनेको देख्दा आश्चार्य लाग्छ।’
उनले नेपालमा अब निर्वाचन नभई जनमत सँग्रहको माग पनि गरे । निर्वाचनहरुले सिमिति व्यक्ति र नेतालाई मात्र माथि पुर्याएकोले जनताको नाजुक अवस्थामा परिवर्तन गर्न जनमत सँग्रह अपरिहार्य भएको उनको भनाइ थियो।
संघ र प्रदेशको निर्वाचनाबाट नेपालमा कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाई मत ल्याएर विजयी हुँदा नेपाली जनतामा केही आशा पलाएपनि कम्युनिष्टलाई दुई तिहाई पाच्य हुन नसकेको उनको टिप्पणी थियो। उनले भने, ‘नेपालका कम्युनिष्टलाई दुई तिहाइले थिच्यो।’
उनले २०४६ सालको पुँजीवाद सत्ता आएसँगै शिक्षामा पनि विभेद आएको उल्लेख गरे। आफूहरुलाई सत्ताको भन्दा पनि जनताको सरकोकार भएको उनको दाबी थियो । ‘सत्तामा को आयो, हामीलाई त्यो मतलब थिएन। जनताले अधिकार पाए कि नाइँ भन्ने हाम्रो सरोकार थियो,’ उनले भने ।
उद्घाटन कार्यक्रममा विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, हेमन्तप्रकाश ओलीलगायत नेताहरु सहभागी थिए। सभा हुनुअघि पोखराको रंगशाला र जिरो किमिबाट क्रान्तिकारीको जुलुस निस्किएको थियो । उक्त जुलुस पोखराको चिप्लेढुँगा स्थित मानव अधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो।
असोज ७ र ८ गते बन्द शत्र हुने क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिएका छन् । बन्द शत्र पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुनेछ ।
अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ। वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए।
उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे। प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए ।
सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि हुने जनाइएको छ। सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने क्रान्तिकारीले जनाएको छ।