काठमाडौं- मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल गरेको भए पनि कुनै सहमति जुटाउन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।
बैठकमा संसद्मा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको र छिटोभन्दा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको ती नेताले बताए।
गठबन्धनका नेता उपेन्द्र यादवले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनसक्ने अडान राखेपछि बैठकमा सहमति जुट्न नसकेको हो।
प्रधानमन्त्री देउवाले बुधबार परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिसकेका छन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए।