काठमाडौं– जनकपुरका विनय यादव सानैदेखि भलिबलका सौखिन थिए। दाइहरुले बनाएको टिममा कहिलेकाहीँ पर्थे तर, खेल्ने अवसर कमै हुन्थ्यो। खेल्न पाएको अनुभव गरेरै टिममा बस्न रमाइलो लग्थ्यो।
केही समय त्यसरी नै बितेपछि उनले खेल्न सिक्दै गए। टिममा पनि पर्न थाले। विस्तारै जिल्ला र प्रादेशिक छनोट हुँदै राष्ट्रिय खेलकुदसम्म प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् विनय। उनी आसन्न एनभीए क्लब भलिबल च्याम्पियनसिपको तयारीका लागि विभागीय टिम एपीएफ क्लबमा प्रशिक्षण गरिरहेका छन्।
‘भलिबल सुरु गरेको दुई हजार बहत्तरी सालमा भनम्,’ यादवले आफ्नै लवजमा सुनाए, ‘गाउँतिर भलिबलको ठूलो माहोल त कहाँ हुनु। त्यही पनि दसैं, तिहारमा प्रतियोगिता हुन्छन्। त्यस्तै त हो। तिनै खेलबाट सिकेको। दुई हजार बहत्तरी सालमा गाउँमा गेम भएको थियो। त्यहाँ भरत यादव गुरुले मेरो खेल हेरेर मलाई अभ्यासका लागि बोलाउनु भएको थियो।’
अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रशिक्षकसमेत रहेका भरत त्यतिबेला जनकपुरमै थिए। ‘त्यतिबेला स्कुलहरुको प्रतियोगिता थियो, राष्ट्रपति रनिङ शिल्ड। त्यसका लागि विनय जनकपुरधामको सानो गाउँबाट आएका रहेछन्। मैले पहिलो पटक देख्दा १३–१४ वर्ष जतिका थिए सायद। उनले केही वर्ष अघिदेखि नै खेल्न थालेका रहेछन,’ प्रशिक्षक भरत यादवले विनयसँगको पहिले भेटबारे सुनाए।
भरतसँग भेट हुनुअघि विनय स्पाइकर थिए। हार्ड हिटिङ उनको ‘खासियत’ थियो। त्यतिबेला भरतले विनयको खेल्ने शैली हेरे। हिटिङ पावर हेर्दा भित्रबाटै उनी राम्रो बन्न सक्छन् भन्ने भरतलाई लाग्यो। ठहर गरे– विनय खेल्नकै लागि जन्मिएका हुन्।
विनयमा भलिबलको भोक कस्तो देख्नु भएको थियो? प्रशिक्षक भरत भन्छन्, ‘मैले उसको उमेर सोधेँ, जुन निकै कम रहेछ। अनि हाइट हेरेँ, अग्लो नै थियो। अलि बढ्छ हाइट भन्ने लाग्यो, बढ्यो पनि।’
स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि टिम पहिलो नै भयो।
‘विनयको हाइट, ब्लक, पास र बलसँग औंलाको चाल हेरेर मैले उसलाई सेटर ठिक हुन्छ होला भनेँ। उसको अपरहेन्ड, अन्डरहेन्ड पास पनि त्यहि अनुसारको छ,’ भरतले विनयको शैलीबारे भने, ‘मैले नै उसको खेल हेरेर त्यहि अनुसारको भलिबल सिकाएँ। र, सेटर बनाएँ।’
स्कुल छोडेपछि विनय जनकपुरमै जिल्लाको टिमसँग रहेर अभ्यास गर्न थाले। अहिले विनय प्रदेश २ मा पहिलो रोजाइका सेटर हुन्। प्रशिक्षक भरतले भने, ‘उनको स्किल नै त्यहि किसिमले विकास भएको थियो।
स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि टिम पहिलो नै भयो।
खेल्ने निर्णय गर्दा उनको परिवारको पूरा समर्थन छ। भन्छन्, ‘परिवारमा म एक्लो छोरा हुँ नि, त्यही भएर सायद।’ बाबुआमाको उनीमाथि लगाव र प्रेरणाले उनलाई रोजेको खेल्न र गर्न धेरै बाधा भएन।
आर्थिक अभाव एकठाउँमा छ, उनले परिवारको साथ निरन्तर पाइरहे। ‘आर्थिक रुपले केहि गाह्रो त भएको हो। हाम्रो समाजमा धेरैलाई हुन्छ। तर, त्यो भन्दा ठूलो कुरा परिवारको साथ हो, जुन मलाई प्राप्त भयो,’ उनले खेलपछिको पृष्ठभूमि सुनाए।
परिवारमा भलिबल खेलेर पनि राम्रो हुन्छ भन्ने आशा दिलाउन सक्नुभएको रहेछ होइन त?’ उनले जवाफमा सहमति सूचक मुस्कुराएर भने, हो।’
दुई वर्षअघि गोरखामा भएको एक प्रतियोगितामा ब्लक गर्दै विनय यादव।
विनयको परिवारबारे प्रशिक्षक भरत भन्छन्, ‘उनी सामान्य परिवारमा जन्मिएका हुन्। आम नेपाली समुदायका हुन् उनी। घरको आर्थिक अवस्था गुजारा चलाउने परिवारको क्षेत्रमा पर्छ।’
अनि खेल्ने प्रेरणा चाहिँ कसरी आयो नि? उनी भन्छन्, ‘सुरुमा खेलहरु हुँदा दाइहरुले १६ मा राख्नुभएको थियो। खासै खेल्न त आउँथेन। र, पनि टिममा राख्नुहुन्थ्यो। तराईमा कमै माहोल थियो। भएको बेलामा तदारुकता देखाउँदै सिकियो।’
उनको खेलको पोजिसन ‘सेटर’ हो। उनी त्यहाँबाट लिफ्टिङका लागि टिममा योगदान दिन रुचाउँछन्। उनको पोजिसन विपक्षीको प्रहार रोक्नका लागि उत्कृष्ट ठाउँ पनि हो। उनलाई त्यो ठाउँ निकै प्यारो लाग्छ। पावर हिटरलाई बल पास गर्नु र कहिलेकाहिँ त्यस्तो नभएर विपक्षीको खाली ठाउँमा बल फ्याकिँदिनु पोजिसनका हिसाबले उनको विषेशता हो।
‘म लिफ्टरमा नै बेस्ट हो, त्यही पोजिसन सहि लाग्छ,’ उनी भन्छन्, ‘भविष्यमा पनि यहि पोजिसनबाट खेल्ने लक्ष्य छ।’
खेल्ने क्रममा अहिले उनी विभागीय क्लब एपीएफमा पुगेका छन्। ‘करिब एक महिना जति भयो म यहाँ आएको,’ उनले फोनमा सुनाए, ‘धेरै भएको छैन। एनभीएको लागि करारमा छु।’
अनि खेल्ने प्रेरणा चाहिँ कसरी आयो नि? उनी भन्छन्, ‘सुरुमा खेलहरु हुँदा दाइहरुले १६ मा राख्नुभएको थियो। खासै खेल्न त आउँथेन। र, पनि टिममा राख्नुहुन्थ्यो। तराईमा कमै माहोल थियो। भएको बेलामा तदारुकता देखाउँदै सिकियो।’
उनले विभागीयबाट खेल्ने वा स्वतन्त्र रुपमा खेल्ने भनेर निर्णय गरिसकेका छैनन्। कतै आवद्ध नभई स्वतन्त्र भएर नै खेल्ने सोचेका छन्। अहिले एपीएफका एकजना खोलाडीको खुट्टाको अपरेसन भएकोले आराममा छन्। एपीएफमा ठाउँ खाली छ, त्यसलाई पूर्ति गर्न विनय आएका हुन्। प्रशिक्षकले एपीएफको फर्म भर्नका लागि सुझाव दिएका छन्।
खेलकुदमा लागेपछि उनले केहि पाउने आशा नै गरेनन्। टिममा छिर्यो खेल्यो, मनोरञ्जन गर्यो, सकियो। तर उनी अहिले भलिबललाई नै करिअर बनाउने स्थानमा आइपुगेका छन्।
‘भलिबलबाट रिटर्नमा के चाहनुहुन्छ?’ जवाफमा विनय भन्छन्, ‘अहिले विभागमा आइपुगेको छु। सायद राम्रो होला। यही चाहेको भन्ने त छैन।’ सबै खेलाडीले झैं उनले पनि देशको प्रतिनिधित्व गर्ने सपना देखेका छन्। ‘मलाई पनि त्यो छ, हाइट चाहिने छ। खेलमा राम्रो गर्न सकेँ भने राष्ट्रिय टिमसम्म पुग्न सकिएला। अहिलेको आशा त्यहि नै हो,’ उनले भने।
कोभिडका कारण पछिल्लो डेढ वर्षमा देशभर भलिबल ठप्प थियो। त्यो समयमा उनले पनि खेल्न पाएनन्। लामो समयपछि भएको प्रतियोगितामा खेल्न उनी आइपुगेका छन्।
‘कोभिडले लामो समय खेल्न पाइएन। अब फाइट गर्ने हो सफल भइयो भने आफ्नै लागि हो,’ उनी सुनाउँछन्, ‘सफल नभएसम्म फाइट गर्ने सपना छ। त्यहि सपना लिएर जनकपुरबाट काठमाडौं आइपुगेको छु।’
टिममा उनको स्थान निकै उल्लेखनीय रहेको च्याम्पियनसिपमा सहभागी अर्को टिम नयाँबजारका कप्तान सरोज हायू बताउँछन्। ‘एपीएफले प्रदेश २ बाट उत्कृष्ट खेलाडी छानेर ल्याएको हो। विनय अहिले एपीएफको पहिलो रोजाइको सेटर भइसकेका छन्,’ हायू भन्छन्, ‘टिममा उनको स्थान निकै राम्रो छ।’
एपीएफका पहिलेका खेलाडीको उचाइ कम भएकाले विनयलाई लिएको हायूले बताए। ‘नियमित अभ्यास भयो भने उनले निकै राम्रो गर्न सक्नेछन्। उनको अहिले शरीरको लचकता केही ढिलो छ। त्यसलाई उनले मध्यनजर गरेको अवस्थामा राम्रो सेटर बन्न उनलाई कसैले रोक्नेछैन,’ प्रशिक्षक भरतले भने।