काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गर्ने भएका छन्। सरकार गठन भएको ७२ दिनपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त गर्न लागेका हुन्। उनलाई आजै शपथ खुवाउने तयारी छ। देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका छन्।
सत्तारुढ गठबन्धनले मंगलबार कांग्रेस नेता डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। असार २९ मा प्रधानमन्त्री बनेका देउवाले कांग्रेसबाट दुई र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए। त्यसपछि साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। अझै १६ मन्त्रालय नेतृत्वविहीन छन्।
मन्त्री खड्का शपथ लिएलगत्तै अमेरिका जान लागेकाे उच्च सरकारी स्राेतले जानकारी दियो। खड्का संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।