काठमाडाैं- अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मंगलबार आएको पहिरोले रेसुङगा नगरपालिका–८ तम्घास थुम्का लाइन बस्ने तिलक परियारका छोरीको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। घरमाथिबाट पहिरो आउँदा कोठामा सुतिरहेका उनीहरूको पुरिएर ज्यान गएको हो।
परराष्ट्रमन्त्रीलाई शपथ खुवाउँदै देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गर्ने भएका छन्। सरकार गठन भएको ७२ दिनपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै आज परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त गर्न लागेका हुन्। उनलाई आजै शपथ खुवाउने तयारी छ। सत्तारुढ गठबन्धनले मंगलबार कांग्रेस नेता डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए। त्यसपछि साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषद्मा खड्कालाई थप्न लागेका हुन्। अझै १६ मन्त्रालय नेतृत्वविहीन छन्।
कांग्रेस पदाधिकारी बैठक ३ बजे
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्री छनोट र महाधिवेशनको तयारीका विषयमा छलफल हुने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार वडा अधिवेशन हुन नसकेका जिल्लाको विवाद कसरी मिलाउने भन्ने विषयमा विशेष छलफल हुनेछ। कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। यस्तै बैठकमा कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मापदण्डका विषयमा पनि छलफल हुनेछ। यसैबीच रामचन्द्र पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन्।
नेकपा एकीकृत समाजवादी बैठक आज
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार पनि बस्दैछ। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्तावमाथि समूहगत रूपमा छलफल हुनेछ। अध्यक्ष नेपालले मंगलबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो। बैठक बिहान ११ बजे सुरु हुनेछ। केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजना लगायतका एजेन्डा बैठकमा राखिएका छन्।
सेनाले माग्यो ५२ प्राविधिक कर्मचारी
नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न प्राविधिक पदमा ५२ का लागि जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनोट निर्देशनालयले बुधबार सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो। २७ जना लेखा उपसेनानी माग भएको छ। प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल इन्जिनियर तीन जना, इलोक्ट्रोनिक्स इन्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबीबीएस डाक्टर १३ जना माग भएको छ।
नागरिक उड्डयनको महानिर्देशकमा क्षेत्री
नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन्। ३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए। महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्री निमित्त महानिर्देशक भएका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो।
मनसुनी वर्षा कायमै
आज पनि देशका अधिकांश भुभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना छ। अहिले वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंमा बिहानदेखि वर्षा भइरहेको छ। दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौंमा पुनः पानी पर्ने मौसमविद्हरुले बताएका छन्।
तालिवान मन्त्रिपरिषद्मा अटेनन् महिला
अफगानिस्तानमा शासन गरिरहेको आतंकवादी संगठन ’तालिबान’ले मन्त्रीको सूची सार्वजनिक गरेको छ। तालिबानले महिलाहरूलाई अधिकार दिइने बताइरहे पनि यस पटक सार्वजनिक गरिएको मन्त्रीको सूचीमा महिला अटाउन सकेका छैनन्। तालिबानले उल्टै महिला मन्त्रालय हटाइदिएको छ। यसले अफगानिस्तानमा पुरुषले मात्रै राज्य सञ्चालन गर्ने देखिएको छ।
यसैबीच, अफगानिस्तानमा बेरोजगारहरुको संख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ। त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन्।
क्रिकेटमा राजस्थान विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले जित निकालेको छ। दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाब किङ्सलाई २ रनले पछि पार्दै जित निकालेको हो। राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो। यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ। सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ।