काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र सङ्घको ७६औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यसअघि राष्ट्रसंघमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचना भएको थियो। १५ सेप्टेम्बरमा औपचारिकरुपमा सुरुवात भएको ७६ औं महासभामा मंगलबारदेखि जनरल डिबेट सुरु हुने भएको छ।
राष्ट्रसंघको ७५ औं महासभा भर्चुअल माध्यमबाट भए पनि ७६ औं महासभा भने भौतिक उपस्थितिमा हुने भएको छ। तर, केही राष्ट्र प्रमुखहरुले भने भर्चुअल माध्यमबाट नै सम्बोध गर्ने जानकारी गराएका छन्।