काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन्।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको दोहोर्याएका हुन्।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरुले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे।
उनले भने, ‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ। जनता भोली प्रतिवादमा निस्कन्छ। अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन। सबै चुप लागेर मुकदर्शक भएर हेर्छन। २०१७ साल हेरे हुन्छ। २०१७ सालमा दुई तिहाई ल्याएको कांग्रेस संसद् सबै अपदस्थ गर्दा पनि केही पनि बोलेन। कोही पनि बोलेन। ३० वर्षसम्म किन चल्यो? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होइन? माघ १९। माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले।'
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।