शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको प्रश्‍न - पदकले नै विद्रोह गर्ने बेलामा बुद्धिजीविहरुको मौनता किन?

ओलीको प्रश्‍न - पदकले नै विद्रोह गर्ने बेलामा बुद्धिजीविहरुको मौनता किन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्‍न लागेको बताएका हुन्। 

उनले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए। आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्‍नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

उनले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए, बाबा। अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादीलाई पनि वितरण गरिदिएको छ। ती पनि चुपचाप कसले बोल्ने? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्‍ने? कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस्। कतैबाट उज्यालो नछिरोस्। सबैतिर अन्धकारमा चलाउने। विरोधी नै रहेनन्। हामीलाई कुनै टाउको दुखेको होइन। यति धेरै पदकहरु त कहिले पनि बाँडिएको थिएन होला। रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या ह्वारह्वार । म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो। के हुन्थ्यो ? बुद्धिजिवीहरुले के भन्थे? नागरिक समाज के भन्थ्यो? चुपचाप। आज रमाइलो छ, सबै चुपचाप छन्। सञ्चो छ। शान्त छ।’

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरेका छन्। सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ। 

उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोध समेत गरे। सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ। उनले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ। दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन्। अहिले ग्रहण लागेको छ। यो ग्रहणतिर हेर्ने काम छैन। अशुभ छ। २५ मा सहज हुन उहाँहरुलाई सहज भइराखेको छैन। गाह्रो त्यही हो। ७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले? कार्यकाल छ सवा बर्ष। सबा वर्षको २० प्रतिशत भाग गयो। खाली चिन्ता हो, देशको बहुमुल्य समय बर्बाद भो। दुरुपयोग भो भन्‍ने चिन्ता हो। पदक मैले अस्तिको दिन बोल्दा भने पदक यदि बोल्न जान्दथ्यो भने त्यसका आँखा हुन्थे र आँशु हुन्थे भने बरबर रुन्थ्यो त्यो। धरधर रुन्थ्यो पदक। बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर। जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो।’

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे। उनले भण्डारीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चा समेत गरेका थिए।

प्रकाशित: Sep 21, 2021| 17:31 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...