काठमाडौं- राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुने कार्यसूची रहेको छ।
दलहरूबिच सहमति भएमा आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुने बताइएको छ। विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि ७२ घण्टा संशोधन समय दिइनेछ।
राष्ट्रिय सभा सदस्यलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्ने सुविधा हुन्छ। सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुने बताइएको छ। त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ।
त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउनेछ। त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ।