काठमाडौं- माधव नेपालको नेतृत्वमा नव गठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दिउँसो २ बजे सुरु हुने बैठकमा देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोग गठन, विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुने उनले बताए। बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ।
सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ। पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ।
नेता खतिवडाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ। उक्त बैठकबाट केही नेताहरूलाई नयाँ जिम्मेवारी तोक्नुका साथै विभाग हेरफेर समेत गरिने भएको छ।