एमसीसीमा टिप्पणी गरेकै आधारमा कारबाही नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले एमसिसीबारे सकारात्मक, नकारात्मक वा समीक्षात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न आदेश दिएको हो। भदौ १८ मा एमसिसिबारे गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै एमसीसीको विषयलाई लिएर नाराबाजी र जुलुस प्रदर्शन गर्ने, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो। जसविरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरि सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै गृहको निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाललगायतविरुद्ध ओलीको रिट हेर्दाहेर्दैमा
१४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै केपी ओलीले दायर गरेको रिटमाथिको बहस सोमबार हेर्दाहेर्दैमा रोकिएको छ। दुवै पक्षको बहस नसकिएपछि सर्वोच्च अदालतले उक्त रिट हेर्दा हेर्दैमा राखेको हो। बहस न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा भएको थियो।
माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस बाँकी छ भने ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी छ। मंगलबार हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ। ओलीले रिटमा माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न माग गरेका छन्।
आफ्नो सरकार ढाल्ने मुख्य योजनाकार माधव नेपाल : ओली
एमाले अध्यक्ष केपी शर्माले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्।
आगामी विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले १० बुँदे सहमति गरेर अहिले पार्टी एकताको पक्षमा उभिनेहरु नै पार्टीको नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न भएको आरोप लगाएका हुन्। आफ्नो सरकार विस्थापित गर्ने योजनाकार र पुष्पकमल दाहालका सारथी बनेर काम गरेको आरोप ओलीको छ। ओलीले एमाले नेतृत्वको सरकार हुँदा माधव नेपालको साथमा रहेका नेताहरु नै प्रदेशमा एमाले सरकारलाई विफल पार्न र पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न सक्रिय भएको आरोप पनि लगाएका छन्। प्रतिवेदन आइतबारको बैठकमा पेस भएको थियो। प्रतिवेदनमा सोमबारको बैठकमा छलफल भएको एक नेताले जानकारी दिए।
उनले १० बुँदे सहमति गरेर एमालेमा बसेकाहरुलाई फेरि पनि विश्वास गर्न सकिने अवस्था नरहेको पनि संकेत गरेका छन्। १० बुँदे सहमति गर्नेहरुमा माधवकुमार नेपाल निकट रहेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। ओलीको कार्यशैलीको चर्को विरोध गर्दै आएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव भीम आचार्य र योगेश भट्टराई सोही १० बुँदे सहमतिका आधारमा पार्टी एक भएको भन्दै एमालेमै छन्।
प्रदेश १ र बागमतीमा एसको सरकार बन्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्। उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गरे।
अध्यक्ष नेपालले एमालेबाट आफुहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरे। पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’ उनले प्रश्न गरे।
नेकपा समाजवादीका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी गरे।
एमालेको अवरोधकै बीच बजेट पारित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बचि प्रतिनिधिसभाबाट चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले गएको भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट पेस गरेकोमा उक्त बजेट आज पास भएको हो।
सभामुखले आजको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए। तर, नाराबाजीको बेवास्ता गर्दै सभामुखले बैठक अघि बढाए। नाराबाजीकै बीच ध्वनि मतका आधारमा बजेट पास भएको घोषणा सभामुखले गरेका थिए।
बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ। अध्यादेशको समय गत बुधबार सकिएपछि खर्चमा बन्देज लागेको थियो। अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
१०९५ संक्रमित थपिए, २२ हजार १९२ लाई खोप
नेपालमा आज थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ८१७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार कुल परीक्षणको ७.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ।
यस्तै उक्त अवधिमा २२ हजार १९२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा पहिलो डोज कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६२ लाख १५ हजार ६५८ पुगेको छ भने दुवै डोज लगाउनेको संख्या ५५ लाख ८८ हजार ५१७ जना छ।
बुटवलका मेयरमाथि आफ्नै पार्टीका कार्यकर्ताद्वारा मुक्का प्रहार
पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि हातपातको प्रयास भएको छ।
बुटवल ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमणको प्रयास भएको हो। पहिरो प्रभावित क्षेत्रको अवलोकन गरिरहेका सुवेदीमाथि एक युवाले आक्रमणको प्रयास गरेका हुन्। युवाको आक्रमणलाई नगर प्रहरीसहितको सुरक्षा टोलीले रोकेको थियो। ज्योतिनगरमा भदौ दोस्रो साता गएको पहिरोले दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको थियो। गएराति र आज बिहान परेको वर्षाले थप आठ घरमा क्षति पुर्याएको छ। क्षतिबारे अवलोकन गर्न मेयरको नेतृत्वमा उपमहागरको टोली त्यहाँ गएको थियो।
यसैबीच बुटवलमा उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा नेकपा (एमाले)का कार्यकर्ता भएको खुलेको छ। पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई अनेरास्विवयू रूपन्देहीका सदस्य गणेश पंगेनीले मुक्का प्रहार गरेको एमालेका एक नेता पुष्टि गरे। प्रहरीले भने अझैसम्म ती युवालाइ पक्राउ नगरिएको जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले खोजी भइरहेको बताए। जबकि कुँवरकै अगाडि मेयरमाथि आक्रमण भएको थियो।
मेयर सुवेदी पनि एमालेबाटै निर्वाचित हुन्।
काठमाडौं साक्षर घोषित
काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताइन्। उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताइन्।
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताइन्। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान सुझाव दिए। उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध समेत गरे।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।
दसैलक्षित प्रहरीको विशेष सुरक्षा योजना
चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो। सो योजना सोमबारदेखि नै लागू भएको महाशाखाले जनाएको छ। चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चार पटकसम्म विभिन्न ४३ ठाउँहरुमा २४ सै घण्टा चेकिङ थालेको छ।
थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ। लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे÷नराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरे/नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको जाँच गर्ने महाशाखाले जनाएको छ।
ओकसका कारण बेलायतसँग फ्रान्स रुष्ट
सुरक्षा सम्झौता ओकसका कारण रुष्ट बनेको फ्रान्सले बेलायतसँगको वार्ता रद्द गरेको छ। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता 'ओकस' भएसँगै फ्रान्स आक्रोशित बनेको छ।
सम्झौताअनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि सहयोग गर्ने छन्।
घटनाक्रमहरु तीव्र गतिमा विकास हुने क्रममा फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले बेलायती समकक्षी बेन वालससँग लण्डनमा यो हप्ता हुने तय भएको वार्ता रद्द गरेकी हुन्।
फ्रान्सले आफूसँग ठेक्का सम्झौता भएको अवस्थामा ढाँटेर सुरक्षा सम्झौता गरिएको बताएको छ। अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो।
भिडियोमा हेर्नुहोस्