शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विचौलियका कारण बूढीगण्डकीको काम अलपत्र : पूर्वप्रधानमन्त्री भट्टराई

विचौलियका कारण बूढीगण्डकीको काम अलपत्र : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्। 

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार काठमाडौंको माइतीघरमा सुरु गरेको दबाबमुलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै अध्यक्ष भट्टराईले सात वर्षभित्र बनिसक्नुपर्ने बूढीगण्डकी जलविद्युत आयोजनाको काम आठ वर्ष बितिसक्दा पनि काम सम्पन्‍न हुन नसक्नु लज्जास्पद र बिडम्बनापूर्ण भएको बताएका हुन्। 

उनले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारी बूढीगण्डकी विकास समिति बनाएर अन्तर्राष्ट्रिय  संस्थामार्फत् डीपीआर बनाउने र यसको विस्तृत परियोजना अनुरुप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भए पनि विचौलियाका कारण हालसम्म काम सम्पन्‍न नहुनु दु:खद भएको बताए। 

सो ठाउँका जनताले उठाएको मुआब्जालगायतको समस्या समाधान गर्न उनले सरकारसँग माग गरे। उनले भने, ‘यो कसरी बनाउने, कसलाई ठेक्कापट्टा दिने, कसले कति कमिशन खाने भन्‍नेजस्ता बखेडाहरु झिकेर यो परियोजना ढिलो गरिनु अत्यन्त लज्जास्पद छ। स्थानीय जनतालाई विस्थापित गरेर, बेघरबार गरेर अन्यत्र धपाउने र त्यहाँ बनाएको परियोजनाबाट केही टाठाबाठाले लाभ लिने र राज्यको दोहन गरेर जनतामाथि शासन गर्ने बिडम्बनापूर्ण अवस्था छ। जनताले जुन जायज माग उठाएका छन्। यी मागहरु छिटो सम्बोधन गरियोस्। धर्नामा बस्‍नुभएका सरोकारवालासँग वार्ता गरेर जायज माग पूरा गरियोस् ।’

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरुले राखेको विभिन्‍न मागहरु पूरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा दबाबमुलक धर्ना सुरु गरेका छन्। 

धर्ना एक हप्तासम्म हुने सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए। आयोजना प्रभावितले बूढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटविरुवाको मुआब्जा निर्धारणसम्म नगरेको भन्दै समितिले घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत सकंलन गर्न, तत्काल मूल्य निर्धारण गरी वितरण गर्न र घर गोठ लगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगर्न सरकारसँग माग गरेका छन्। 

त्यस्तै घडेरी वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेकै बराबर प्रतिरोपनी सात लाख ७३ हजार रुपैयाँ दिनुपर्ने, दर्ता छुट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गर्नुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा वितरण गर्नुपर्ने माग गरिएको छ। 

मुआब्जा निर्धारण समितिको निर्णय अनुसार पाँच रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिनुपर्ने पनि आयोजना प्रभावितहरुको माग रहेको छ। त्यसैगरी आयोजना प्रभावितलाई पुर्नबास तथा पुनर्स्थापनाको ग्यारेन्टी गरिनुपर्ने र डुबान क्षेत्रका बासिन्दाहरुलाई हाल बसोबास गरिरहेकै वडामा पुर्नबासका लागि पायक पर्ने स्थानमा जग्गा रोक्का गरिनुपर्ने पनि बूढीगण्डकी आयोजना प्रभावितहरुको माग छ।

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले सरकारले बूढीगण्डकी आयोजना छिटोभन्दा छिटो बनाउनुपर्ने र आफूहरुको माग पूरा गर्नुपर्ने बताए। 

उनले आफूहरुको माग सरकारले पूरा नगरे आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 


प्रकाशित: Sep 20, 2021| 17:32 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...