काठमाडौं - नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।
सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै नेकपा एसको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन्। आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे।
उनले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु।’
अध्यक्ष नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्मा नारा लगाउनुपर्यो भन्ने प्रश्नसमे गरेका छन्।
पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसद्मा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरे। भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसद्मा नारा किन लगाउनुपर्यो, हाइसञ्चो भएको मान्छेले? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसद्मा?’
उनले सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसद्मा कुरा उठाउन नपाइने भए पनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे।