काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलन गर्न बाध्य भएको बताएका छन्।
सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनले बताए। संसद्मा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाइ छ। बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उनको आरोप छ।
उनले भने, ‘संसद्मा प्रस्तुत भएका बिजनेश वा एजेण्डाप्रति भन्दा पनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा एमालेप्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ। उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपाएमालेलाई गरेको अन्यायमा जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ। हामीले सांकेतिक रुपमा नेकपा एमालेले आफुमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारविरुद्ध हामीले जे सांकेतिक रुपमा विरोध गरेका छौँ। त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो।'
उनले सरकारले र सभामुखले नै निकास दिनसक्ने भन्दै सरकारले यसको पहलकदमी लिनुपर्ने बताए।