काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताए। उनले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गरे।
उनले सभामुख र प्रधानमन्त्रीले राष्ट्रिय एकताका लागि पहल गरिरहेको बताए। उनले भने, ‘प्रतिपक्षसँग पूरै सौहार्दपूर्ण वातावरण बनाउने हो। निरन्तर वार्ता गर्ने हो। सर्वदलीय बैठक भएको यहाँहरुलाई थाहा छ। कानुन मन्त्रीले निरन्तर वार्ता गरेको पनि यहाँहरुलाई थाहा छ। हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ। बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएकोले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ। प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ। वार्ता गर्ने हो, संवाद गर्ने हो, सर्वदलीय बैठक राख्ने हो, सभामुखले पहल गर्नुभएको छ।
उनले बजेटमा कुनैपनि योजना नकाटेको र नरोकेको पनि जानकारी दिएका छन्। उनले भने, 'पूर्वाग्रही हामी छैनौँ। पूर्वाग्रही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला उहाँहरुले सबै योजना देखेपछि होइन रछ भन्नुहुन्छ होला।’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफूले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिरहेको बताएका छन्। सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उनले एमालेबाट संसद खुलाउने भूमिकाको अपेक्षा गरेको उनले बताए।
उनले भने, ‘संसदलाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु। आज संसद सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिले पनि आशावादी छु । संसद सुचारु रुपले चल्नुपर्दछ। संसदलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको हुनाले त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन गर्दछौं। एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भूमिकाको अपेक्षा गरेका छौँ। विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयक छन् ती विधेयकहरुलाई रोक्ने काम जसरी भइरहेको छ। यो आफैमा अनौठो छ।’