काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेकोमा सभामुखविरुद्ध र गैरसांसदलाई मान्यता दिएकोमा निर्वाचन आयोगविरुद्ध एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए। उतm रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेशी तोकिएको हो। अहिले रिटमाथि सुनुवाइ भइरहेको छ।
एमालेले गत साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए। पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदा समेत सभामुख अग्निप्रसाद सापकोटाले ती सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ।
कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ।
एमालेले सांसदहरू माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो।