सुनसरी- गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो। त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे।
सिता शेर्पा राई र शर्मिला भट्टराई मेयर चौधरीलाई कागजपत्रमा हस्ताक्षर गराउन बैठकस्थल बाहिर निकै बेर कुरे।
शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरपालिकाले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगेकी थिइन्।
वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए। नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो।
भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिए। झन्डै एक घण्टा पर्खिए पनि पालो आएन। ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीको सहयोग मागिन्। ‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईंले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न', उनले कार्यालय सहयोगीलाई भनिन्।
यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयरसम्म उनको कागजात पुर्याए। मेयरले निवेदनमा तोक लगाए। तर, फेरि वडा कार्यालयमै जानुपर्ने भएपछि शेर्पा अचम्ममा परिन्। वडाबाट सबै काम सकिएकोले उनी मेयरसम्म आएकी थिइन्। त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन्। 'मेयर साबले कुरा बुझ्नु भएन कि के हो? म एकचोटी भित्र पसेर भन्छु है', भन्दै उनी भित्र छिरिन्।
मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो? बाहिर बाहिर भन्दै रिसले मुरमुरिए।
‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइनँ। अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुनजस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो।’
बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै झपारे। तीजको छेको पारेर सुनजस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे। त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन्।
‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइनँ। अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्, ‘सुनजस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो।’
नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन्। आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन्।
उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन्। मेयरविरूद्ध ध्यानाकर्षणसहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन्।
‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो। तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ।
पटक-पटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन्। मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्। चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नु पर्ने उनीहरूको माग छ। मेयरकै विरूद्धमा महिलाहरूले आज १० बजे इटहरी उपमहानगरपालिका गेटमा धर्ना दिने बताएका छन्।
- प्रकाश तिम्सिना/न्युज कारखाना