काठमाडौं– मकवानपुरको हेटौंडामा पुस्तकालय अभियान समूहले जिल्लाका सबै गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको छ। मंसिरयता अभियानले पाँचवटा पुस्तकालय स्थापना गरिसकेको छ। गत मंसिरमा हेटौंडाको नागबस्तीमा समृद्ध पुस्तकालय स्थापना गरिएपछि जिल्लाभर उत्साह बढेको हो।
अभियानले मकवानपुरका १० वटै स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको सदस्य सुरेश श्रेष्ठ बताउँछन्। मकवानपुरमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका तथा ८ वटा गाउँपालिका छन्।
‘अहिले डिजिटल युगको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा पुस्तकालयको महत्त्व दिनप्रतिदिन बढ्दैछ,’ श्रेष्ठले भने, ‘सबैको साथ सहयोग भए शीघ्र जिल्लाभरि पुस्तकालय स्थापना गर्ने लक्ष्य पूरा हुन्छ।’ नागसोतीको समृद्ध पुस्तकालय उद्घाटन कार्यक्रममा पुस्तकालय स्थापना अभियानको योजना सुनाउँदा उपस्थित सबैले सकारात्मक रुपमा लिएको र तत्काल २ लाख ७० हजार संकलन भएको श्रेष्ठले बताए।
अभियानले हेटौंडा–७, नागसोतीमा समृद्ध पुस्तकालय, चौघडामा शान्ति पुस्तकालय, बकैया गाउँपालिकाको वडा नम्बर ४ मा बकैया सार्वजनिक पुस्तकालय, भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय, मनहरि गाउँपालिकामा मनहरि सार्वजनिक पुस्तकालय स्थापना गरिसकेको छ। गढी गाउँपालिकामा पनि पुस्तकालय स्थापना गर्ने योजना छ।
२८ वर्षपछि खुल्यो ज्योति पुस्तकालय
अभियानले भीमफेदी गाउँपालिकास्थित ज्योति पुस्तकालयलाई पनि २८ वर्षपछि ब्युँत्याएको छ। पुस्तकालयका लागि आवश्यक पुस्तक अभियानले जुटाएको थियो भने कम्प्युटर, फर्निचरलगायतका सामग्री गाउँपालिकाले सहयोग गरेको थियो। राणाकालीन मुकाम भीमफेदी बजारस्थित पानीपोखरीसँगैको भवनमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो। २०१० सालमा स्थापित पुस्तकालय २८ वर्षदेखि बन्द थियो।
‘राणाकालीन भवनमा पुस्तकालय स्थापना गरिएको छ,’ गाउँपालिकाको सूचना अधिकारी बद्री सापकोटाले भने, ‘आगन्तुक र पाठकको रुचिअनुसार पुस्तकालय सञ्चालन गरिनेछ।’
वर्षको पाँच हजार सहयोग
अभियानले पुस्तकालयलाई दिगो बनाउन सहयोग गर्न चाहनेहरुलाई वर्षको ५ हजारको आर्थिक सहयोगको प्रतिबद्धता गर्न अनुरोध गरेको छ। संस्थागत सहयोगका लागि भने कतै पहल नगरिएको श्रेष्ठले बताए। ‘हामीले एक जनाबाट वर्षको ५ हजारको सहयोगका लागि अनुरोध गरेका छौं,’ श्रेष्ठले भने, ‘अभियानमा सहयोग गर्न चाहनेहरुको सूची लामो हुँदै गएको छ। हामी यसका लागि स्थानीय तह र संस्थालाई नै सक्रिय बनाउन केन्द्रित छौं।’ अभियानले पुस्तक उपलब्ध गराउने काम मात्र गर्दै आइरहेको छ।
‘हामी अब स्थानीय संघसंस्था तथा लायन्स क्लब, लियो क्लब, रोटरी क्लबजस्ता अन्य सामाजिक संघसंस्थाको सहकार्यमा अघि बढ्दै छौं’, श्रेष्ठले भने।
सञ्चालनमा चुनौती
पुस्तकालय स्थापनाभन्दा सञ्चालन चुनौतीपूर्ण रहेको अभियानका सदस्य श्रेष्ठ बताउँछन्। ‘समुदायले पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने प्रतिबद्धता गरेपछि मात्र हामीले ५० हजार बराबरको पुस्तक सहयोग गर्ने गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘पुस्तकालय स्थापनाभन्दा पनि त्यसको दैनिक सञ्चालन चुनौतीपूर्ण छ।’
अभियानले पुस्तकालय सञ्चालन गर्न गाउँपालिकालाई स्वयम्सेवकको व्यवस्था गर्न अनुरोध गरेको छ। गाउँपालिका अभियानको प्रस्तावमा सहमत छन्। ‘गाउँपालिकाले नै स्वयंसेवीहरुको व्यवस्था गरिदियो भने पुस्तकालय दिगो हुन सक्छ,’ श्रेष्ठ भन्छन्। अभियानले सकेसम्म स्थानीय संघसंस्थाको रोहबरमा पूर्वाधारयुक्त र नियमित सञ्चालन सम्भावना भएका ठाउँमा पुस्तकालय स्थापनामा सहयोग गर्दै आएको छ।
नेपालमा पुस्तकालय
नेपालमा लिच्छविकालदेखि नै पुस्तकालयको प्रारुप थियो भनिए पनि १८६९ भदौ १५ मा ‘पुस्तक चिताइ तहविल’ स्थापना गर्न गीर्वाणयुद्घ विक्रम शााहले जारी गरेको लालमोहरका आधारमा पुस्तकालय व्यवस्थित भएको इतिहास छ। पुस्तकालय सञ्चालन गर्न आवश्यक ऐन नभएको, कम्प्युटराइज्ड अभिलेख व्यवस्थापन, पुस्तकालय संरक्षण र दिगो विकासको अभावजस्ता विविध समस्यालाई सम्बोधन गर्न पुस्तकालय गुरुयोजना बन्यो। त्यसकै आधारमा ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९’ लागू भएको छ।
मुलुकको शिक्षा विकासमा पुस्तकालय तथा सूचना विज्ञानको विकास एवम् प्रविधिको उपयोग र शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलाई प्रमुख आधार मानिए पनि पुस्तकालय केन्द्रीय तथा स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको बताउँछन् नेपाल पुस्तकालय संघका अध्यक्ष इन्द्र अधिकारी।
सामुदायिक स्तरबाट पुस्तकालय स्थापना हुनु सराहनीय भए पनि पुस्तकालयको दिगोपनबारे सजग हुनुपर्ने उनी बताउँछन्। ‘सामुदायिक पुस्तकालयमा कम्तीमा दुई जना स्वयंसेवकको व्यवस्था गाउँपालिकाले गरिदिने हो भने पुस्तकालय राम्रोसँग चल्न सक्छ,’ अधिकारी भन्छन्, ‘नत्र त एक वर्षमा पुस्तक गायब भएर पुस्तकालय नै बन्द हुन पुगेको उदाहरण धेरै छन्।’
उनले संघका तर्फबाट आफ्नो व्यक्तिगत संकलनका पुस्तकहरु पनि अभियानलाई दान दिएको जनाउँदै अबको पुस्तकालय संस्कृतिको प्रवद्र्धन स्थानीय तहको हातमा रहेकाले स्थानीय निकायलाई स्थानीय अगुवा तथा संघसंस्थाले झक्झकाउनुपर्ने बताए।
जनताको विश्वविद्यालय
सार्वजनिक पुस्तकालयलाई ‘जनताको विश्वविद्यालय’ पनि भन्ने गरिन्छ। कुनै पनि मुलुकको विकासको अवस्था कस्तो छ भनेर मापन गरिने विभिन्न सूचकमध्ये सार्वजनिक पुस्तकालयको स्तर पनि एक भएको निर्देशिकाले औंल्याएको छ। तर, नेपालमा विभिन्न समुदायले स्थापना गरेको पुस्तकालयले नै सार्वजनिक पुस्तकालयको धर्म निर्वाह गरिरहेका छन्।
‘नेपालमा एक त पुस्तकालयको अभाव छ। भएको पुस्तकालय पनि राम्ररी सञ्चालन हुन सकेका छैनन्,’ शिक्षा मन्त्रालयअन्तर्गतको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख यादवचन्द्र निरौला भन्छन्, ‘देशभरका निर्वाचित जनप्रतिनिधिलाई बाटो देखाउने मकवानपुरको पुस्तकालय अभियान समूहको प्रयास प्रसंशनीय छ।’
नेपालमा शिक्षामा लगानी भनिँदा आमबुझाइमा विद्यालयको बजेट मात्र बुझिने गरिन्छ। तर पुस्तकालय र पठन संस्कृतिबारे धेरैको चासो नै छैन। हाल पालिकाहरु स्रोत सम्पन्न भएकाले एक–दुई जनालाई करारमा राख्नसक्ने हैसियतमा भएकाले पालिकाहरुले यस सम्बन्धमा सोच्नुपर्ने निरौला बताउँछन् । ‘पुस्तकालय दिगो हुन एक जना कर्मचारीलाई न्यूनतम तलबमा करारमै भए पनि राख्न सकियो भने उसको वित्तृविकास पनि हुन्छ र पुस्तकालय पनि चल्छ,’ निरौला भन्छन्, ‘त्यस्तो व्यक्तिलाई पुस्तकालयको आधारभूत ज्ञान पनि दिनुपर्छ। ताकि उसको अनुपस्थितिमा पनि पुस्तकालय चल्न सकोस्।’