मानपदवीकाे नाक काटेकाे ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन्। सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए।
तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले आक्रोश पोखे। सरकारले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालका बा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीतालाई पनि पदक दिने निर्णय गरेको छ। आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको भन्दै उनको आरोप छ। यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन हुने ओलीको भनाइ छ।
एमाले अध्यक्ष ओलीले नयाँ संविधान बनेपछि राजनीतिक परिवर्ननको लागि संघर्ष गर्नुपर्ने दिनको अन्त्य भएको बताए। नेपालको परिवर्तनको लागि अब हिंसा स्वीकार्य छैन भन्ने स्पष्ट पारेको पनि उनले बताए। मधेशकेन्द्रीत दलहरुप्रति लक्षित गर्दै उनले नेपालको संविधानको निष्ठा र बफादारितका साथ सपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति जनतालाई धोका दिने कुरा मात्रै भएको बताए। संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मती भएको उल्लेख गर्दै उनले संविधानको आधारभुत प्रस्तावना, मुल्यमान्यता सही छन् भन्नेकुरामा सर्वस्वीकार्यता भएको बताए।
एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप लगाए। उनले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लंघन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गरे। संविधान संशोधनको अधिकार संसदको दुई तिहाईलाई मात्रै भएको भन्दै ओलीले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गरे।
उता एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गरेका छन्।
आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले प्रतिनिधि सभा विघटनलाई बदर गर्ने न्यायाधीशले सरकारबाट पदक पाएको भन्दै यो काम ठिक नभएको टिप्पणी गरेका हुन्।
केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)को सरकारका विरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी र मुद्दाको फैसला गर्ने न्यायाधीशलाई पदक दिइनुले आशंका उत्पन गरेको उनको भनाइ छ। उनले यदि आशंका निवारण गर्ने हो भने न्यायाधीशहरुलाई पदक अस्विकार गर्न सुझाव दिए।
सरकारले संविधान दिवसका अवसरमार ९ सयभन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतका तीनजना न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले प्रसिद्ध प्रवल जनसेवाश्री पदक पाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिने निर्णय सरकारले गरेको छ। पाँचै जना न्यायाधीश प्रतिनिधि सभा विटनविरुद्धको सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमा थिए।
एक सातामा दुई वटा प्रदेशमा सरकार ढल्छन् : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ता भित्रमा प्रदेश १ र बागमती प्रदेश सरकार ढल्ने बताएका छन्।
एक साताभित्रै यी दुई प्रदेशका सरकार ढलेर संघीय सरकारले पूर्णता पाउने बताएका हुन्। संविधान दिवसको अवसरमा पार्टीको कास्की जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिरया तथा कार्यकर्ता भेटघाटमा नेपालले यस्तो बताएका हुन्। प्रदेश र संघका तीनवटा सरकारमा पार्टीको सम्मानजनक उपस्थिति हुने भएकोले कोही पनि नेता तथा कार्यकर्ता आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो।
एमाले अध्यक्ष केपी ओलीको आलोचनाभन्दा बढी पार्टीको नीति तथा कार्यक्रममा जोड दिएका नेपालले अब एकीकृत समाजवादी पार्टी जनताले माया गर्ने पार्टी हुने र सोही अनुसार जनतासँग व्यवहार र जनताको सेवा गर्न निर्देशन पनि दिए। अध्यक्ष नेपालले ओली सरकारको पालामा भएका अर्बौंका भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग पनि गरेका छन। उनले वाइडबडी विमान खरिद गर्दाको भ्रष्टाचार आफ्नै अगाडि भएको दाबी गरे।
विश्वप्रकाशको अवधारणपत्र सार्वजनिक
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ नारासहितको अवधरणापत्र सार्वजनिक गरेका हुन्। उनले आफ्नो पुस्तासँग ‘वान, टू, थ्री, फोर’को प्रस्तावसमेत अघि सारेका छन्।
वान, टू, थ्री, फोरको मतलव एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसद भन्ने भएको उनको भनाइ छ। यसलाई व्यवहारमा अनुशरण गर्न सम्भव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने उनको दाबी छ।
एमाले विभाजनको असर कर्ममारीमा पनि
नेकपा एमाले विभाजनको असर कर्मचारीहरूमा पनि देखिएको छ। एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन पनि विभाजित भएको छ।
माधवकुमार नेपालनिकट कर्मचारीहरूले संगठनका यसअघिका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएर नयाँ टिम घोषणा गरेको छ। अब नेपाल निजामती कर्मचारी संगठनका नाममा दुई समूह बनेका छन्। कार्यक्रममा केपी ओली निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले पुलिसलाई छानबिनका लागि निवेदन दिएको बताए।
त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी निकट अर्को पक्षले पनि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धती र नीति विपरित् गइ पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङ्गले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाद देवकोटासहित ६ जना उपाध्यक्षलाई पदबाट हटाएको बताए।
उनले संगठनलाई कर्मचारीहरुको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्दै लैजाने भन्दै यो कुनै राजनीतिक दलको भातृ संगठन नभएको स्पष्ट पारे। उनले संगठनलाई फुटाएर राजगर्न चाहनेहरुबाट बचाउन आफूले काम गरिरहेको बताए।
बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ।
उजुरीको खात लागेपछि आयोगले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गर्ने कार्यादेशसहित अनुगमन समिति गठन गरेको थियो। समितिले धरानमा पुगेर तयार पारेको प्रतिवेदन आयोगलाई प्रतिवेदन बुझाएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै आयोगमा करिब १ सयवटा उजुरी परेका छन्। अत्यधिक उजुरी आएपछि आयोगले समग्रमा हेरेर स्याम्पल परीक्षण गर्नका लागि प्राविधिकसहितको टिमलाई त्यहाँ पठाएको थियो।
आयोगको टोलीले कागजात अध्ययन गर्दा वीपी प्रतिष्ठानमा पाँच ठाउँमा भ्रष्टाचार भएको देखाएको छ। भवन निर्माण, स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री खरिद, औषधी खरिद, नियुक्ति र प्रशासनिक काम कारबाहीमा समेत भ्रष्टाचार भएको आयोगको टोलीको ठहर छ।
७३४ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ। देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
मनाइयो इन्द्रजात्रा
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज कोरोना महामारीबीच परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बसन्तपुरस्थित कुमारी यात्राको अवलोकन गरेका छन्। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन रहँदै आएको छ।
हुथीका सर्वोच्च नेताको हत्या गरेको भन्दै ९ जनालाई मृत्युदण्ड
यमनको हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ। तीन वर्ष पहिले हुथी समूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न ९ जनालाई मृत्यु दण्ड दिईएको हो। राजधानी सानाको एक चोकमा गोली प्रहार गरी उनीहरुलाई मृत्युदण्ड दिइएको हो। हुथी समूहको एक अदालतले दोषी ठहर गरेका १६ जनामध्ये ९ जनालाई मृत्युदण्ड दिइएको हो।
हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि मुद्दा चलाएको थियो भने उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०१८ को अप्रिलमा यमनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो। साउदी अरबले उक्त हवाई हमला आफूले गरेको पुष्टि गरेको थियो।
भिडियोमा हेर्नुहोस्