काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताको सम्वर्द्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका छन्।
आइतबार महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा उपसभापति निधिले संघीयताको सम्वर्द्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताए।
संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भए पनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उनले बताए। संघीयताको सम्वर्द्धनका लागि पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सबै प्रदेशका प्रहरी संगठन बनाउनुपर्नेमा उनले जोड दिए।
उपसभापति निधिले नेताहरुले नै संघीयता अनुकूलको मानसिकता बनाउन नसकेको टिप्पणी गरे। नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उनले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफू पनि प्रशिक्षित हुनुपर्ने बताए।