शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साताभित्र दुई वटा प्रदेश सरकार ढल्छन्, संघीय मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : माधव नेपाल

साताभित्र दुई वटा प्रदेश सरकार ढल्छन्, संघीय मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : माधव नेपाल

‘अब हाम्रो पार्टीका कार्यकता निराश हुनुपर्ने जरुरत छैन, प्रदेश १ र वागमती प्रदेशमा एक हप्ता भित्रमा नेकपा एमाले नेतृत्वको सरकार ढल्दै छ,’ उनले भने, ‘यसैगरी केन्द्रीय सरकारले पनि एक हप्ता भित्रमा पूर्णता पाउँदैछ।’
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

पोखरा- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ता भित्रमा प्रदेश १ र बागमती प्रदेश सरकार ढल्ने बताएका छन्। एक साताभित्रै यी दुई प्रदेशका सरकार ढलेर संघीय सरकारले पूर्णता पाउने बताएका हुन्। 

संविधान दिवसको अवसरमा पार्टीको कास्की जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया तथा कार्यकर्ता भेटघाटमा नेपालले यस्तो बताएका हुन्। ‘अब हाम्रो पार्टीका कार्यकता निराश हुनुपर्ने जरुरत छैन, प्रदेश १ र वागमती प्रदेशमा एक हप्ता भित्रमा नेकपा एमाले नेतृत्वको सरकार ढल्दै छ,’ उनले भने, ‘यसैगरी केन्द्रीय सरकारले पनि एक हप्ता भित्रमा पूर्णता पाउँदैछ।’ 

प्रदेश र संघका तीनवटा सरकारमा पार्टीको सम्मानजनक उपस्थिति हुने भएकोले कोही पनि नेता तथा कार्यकर्ता आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘सरकारमा सहभागी हुने भएसँगै, विभिन्न निकायमा पनि नियुक्ति छन्, त्यसमा पनि मिलाएर अगाडि बढिनेछ,’ उनले भने। 

एमाले अध्यक्ष केपी ओलीको आलोचनाभन्दा बढी पार्टीको नीति तथा कार्यक्रममा जोड दिएका नेपालले अब एकीकृत समाजवादी पार्टी जनताले माया गर्ने पार्टी हुने र सोही अनुसार जनतासँग व्यवहार र जनताको सेवा गर्न निर्देशन पनि दिए। ‘जनता र कार्यकर्तालाई दास बनाउने पार्टी होइन, जनताले माया गर्ने पार्टी निर्माणमा लाग्नुस्,’ उनले भने। 

गण्डकीमा पार्टीको आधार कमजोर भएको भन्ने गुनासो सुनिइरहेको र कार्यकर्तामा पनि त्यो आभाष भएको प्रति नेपालले चुनावमा टिकट बाँड्ने बेलामा नै धाँधली गरेकाले यस्तो भएको स्पष्ट पारे। ‘चुनावमा टिकट बाँड्ने बेलामा, मनपरी गरियो, त्यसैले गण्डकीमा हाम्रा जनप्रनिधिहरु नदेखिएका हुन्, तर कार्यकर्ता र जनताको बलियो पंक्ति हामीसँग छ,’ नेपालको दाबी थियो। 

अध्यक्ष नेपालले ओली सरकारको पालामा भएका अर्बौंका भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग पनि गरेका छन्। ‘म भ्रष्टाचार पनि गर्दिनँ, र भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्दै, चारैतिर कोपिरिएको छ, चरम भ्रष्टाचार भएको छ, यसको छानबिन गर्न म अहिलेको सकारलाई आग्रह गर्दछु,’ उनले भने। 

नेपालले वाइडबडी विमान खरिद गर्दाको भ्रष्टाचार आफ्नै अगाडि भएको दाबी गरे। ‘वाइडबडी विमान खरिद गर्दा भएको भ्रष्टाचारको साक्षी म आँफै छु, एउटा दररेटमा फाइल उठाउने र अर्कै दररेट भुक्तानी भएको छ, कारबाही छानबिन र कारबाही गर्नुपर्‍यो भन्दा फाइल दराजमा थन्क्याइएको छ,’ उनको आरोप थियो। 

ओलीले नेपालमा कम्युनिस्ट पार्टीको अवस्था भारतको पश्चिम बंगालको जस्तो बनाउन लागेकोले आफुले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्ट पारे। ‘भारतको पश्चिम बंगालमा २७ वर्षसम्म शासन चलाएको कम्युनिस्ट पार्टी हालैको चुनावमा शून्य सिटमा झर्‍यो, यहाँ पनि त्यस्तै बनाउन खोजिएको थियो, तर त्यसलाई असफल बनाउन हामीले विद्रोह गर्नुपरेको हो,’ उनले भने। 

नेपालले पार्टीको जिल्ला कमिटिले घोषणा गरेको पिपुल्स भोलेन्टियर्स, समाजवादी मुस्लिम संगठन, अखिल फोर्सलाई सम्मान गरेका थिए। पार्टीले रञ्जित गुरुङ्को संयोजकत्वमा पिपुल्स भोलेन्टियर्स, प्रवेशजंग ठकुरीको संयोजकत्वमा अखिल फोर्स र फैजल मियाँको संयोजकत्वमा समाजवादी मुस्लिम संगठन घोषणा गरेको थियो। सो क्रममा पार्टीमा पछिल्लो समयमा थपिएका सदस्यलाई सपथ ग्रहण गराएका थिए। 

यसअघि उनले पोखराको सिर्जनाचोकमा पार्टीको गण्डकी प्रदेश कार्यालय, जिल्ला कार्यालय र पोखरा महानगर कार्यालय उद्घाटन गरेका थिए। कार्यक्रम स्थलमै उनले पार्टीको जिल्ला कमिटीले चलाउने वेभसाईटको उद्घाटन समेत गरेका थिए। 

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ पूर्ण लामा, केन्द्रीय सदस्य रेखा बस्याल, कास्की जिल्ला अध्यक्ष धनराज आचार्य सचिव होम नेपाली लगायतले केपी ओलीले धराशायी बनाउन लागेको नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाउन नयाँ पार्टीको आवश्यकता रहेको बताएका थिए। 


प्रकाशित: Sep 19, 2021| 17:06 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...