इटाली– पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै महँगोमध्येको एउटा कारको मालिक बनेका छन्। उनले हालै बुगाटीको ‘ला भोइचर नोयर’ नामको कार किनेका छन्, जसको मूल्य १८.६८ मिलियन अमेरिकी डलर छ।
रोनाल्डोको कारलाई कम्पनीले उनकै नाम राखिदिएको छ। जसबाट कसैले पनि उनको कार परैबाट चिन्न सक्नेछन्। रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा कारसँगको तस्बिर पोस्ट गरेका छन्।
उनीसँग यसघि नै धेरै लक्जरी कार छन्। फरारी ५०० जीटीओ, ल्याम्बोर्गिनी एभेन्टाडोर र म्याक्लरेन एमपी४१२सी उनीसँग भएका कार हुन्। यसका साथै उनले गत वर्षको जुनमा ५.५ मिलियन पाउन्डको लक्जरी याच्त कार किनेका थिए।
रोनाल्डोको टिम युभेन्टसले जारी सिजनमा इटालियन शीर्ष लिग सिरी ए जितेको छ। लिगमा ३१ गोल गर्दै उनी सिरी ए मा दोस्रो धेरै गोल गर्ने खेलाडी बने।
ला भोइचर नोयर किन महँगो ?
बुगाटीले यही वर्षको जेनेभा मोटर प्रदर्शनमा पहिलोपटक विश्वकै महँगो नोयर कार सार्वजनिक गरेको थियो। उसले ११० औं स्थापना दिवस मनाउने क्रममा यो कार सार्वजनिक गरेका थियो।
उसले त्यतिबेला नै बेचिसकेका कारहरु मात्र बनाउने बताए पनि कसले किनेका हुन् भन्ने कुरा सार्वजनिक गरेको थिएन। तर कतिमा बेचिएको थियो भन्ने कुराचाहिँ सार्वजनिक गरेको थियो।
यो कार अधिकतम ३८० किलोमिटर प्रतिघण्टासम्म दौडन सक्छ। र, २.४ सेकेन्डमै ६० किलोमिटरको गति लिन सक्छ।
यो कार कार्वन फाइबर प्रयोग गरेर बनाइएको छ। यसको डिजाइन भने १९३० मा चलेको ‘५७ इससी एटलान्टिक’ कारको जस्तै छ। डिजाइनका अलावा यो कारको इन्जिन स्पोर्टस कार चिरोनसँग मिल्दोजुल्दो छ। नोयरमा १६ सिलिन्डर इन्जिन छ, जसले १५ सय हर्ज पावर शक्ति प्रदान गर्छ।
कारको सतहलाई स्मुथ देखाउन सबै बाहिरी पार्टपुर्जालाई मिलाएर जोडिएको छ। यसरी जोडिँदा सबै कार एउटा आइकोनिक ढिकाजस्तो देखिन्छ। जस्तो कि त्यहाँ कुनै अलग पार्ट जोडिएको छैन। कारको बम्मर पनि बडीमा नै मिलाइएको छ, विन्डस्क्रिन र झ्याल सँगै जोडिएको छ।
यो कार बनाउने फ्रेन्च कम्पनी बुगाटीले १० बटा मात्र नोयर कार निर्माण गरेको बताइएको छ।