काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनित गरेको छ। राखेपका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार ६ जनाको नाम मनोनयन गरेका गरेका हुन्।
मनोनित हुनेमा खेलकुद विज्ञ, प्रशिक्षक, प्राविधिक (एन्टीडोपिङलगायत) छन्, जसमा रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्दप्रसाद भट्टराई छन्।
रिम र इन्दिरा सदस्य सचिव सिफारिस समितिका सदस्यसमेत थिए। साथै अर्जुन, सम्पन्न र सुवास खेल संघको सिफारिसमा बोर्ड सदस्य चुनिएका हुन्। यता गोविन्दप्रसाद भने पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व गर्दै राखेप आइपुगेका हुन्।
राखेपका सदस्य सचिवको पदमा हिजो(बुधबार) रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले सपथ ग्रहण गरेका थिए। त्यसपछि राखेपको ३६ सदस्यीय बोर्ड समिति निर्माण सुरु भएको हो।