काठमाडौं- नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ।
जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ। सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।
वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। यसपटक सातौं संविधान दिवस मनाउन लागिएको हो। सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ। राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गरेको छ भने सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक पहल र प्रयत्न गरिरहेको छ।
मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई यसअघि नै आग्रह गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा गत भदौ २३ मा वसेको वैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरघरमा सम्मानका साथ राख्न प्रचारप्रसारका लागि अनुरोध गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम नेपालीको घर–घरमा विशेष हर्षोल्लासका साथ संविधान दिवस मनाइँदैछ।
संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापकरूपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गराइएको छ। नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क स्मारिका प्रकाशन गरिएको छ।
संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख, रचनाको सङ्गालो प्रकाशन गर्ने, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानबाट संविधानको महत्वबारे समाचार, आलेख, अन्तर्वार्ता, कार्यक्रम आदि प्रसारण र प्रकाशन गरिएको छ।
काठमाडौं उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गरेका छन्। नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्ने कार्यक्रम छ।
यस्तै संविधान दिवसको अवसरमा राष्ट्रपति, सभामुखलगायत विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन्।
संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त भएको बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिँदै उनले संविधान पालनमा केहीं चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरे। सन्देशमा उनले भनेका छन्, 'म यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ।'
सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन भएको स्पष्ट पार्दै उपराष्ट्रपतिले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त सहिदप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौं : सभामुख
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन्।
संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्।
जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भएको छ। नेपाली जनताको कठिन सङ्घर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको थियो।
संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन्।
अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, 'संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ।'
पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन्। सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गरेका छन्।
स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔं : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन्। सातौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका हुन्।
संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख गरेका छन्। उनले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको बताएका छन्।
'राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ', उनले सन्देशमा भनेका छन्।
उनले पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिलाई पनि आफूहरूले संवैधानिक प्रबन्ध अनुरूपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेको उल्लेख गरेका छन्।