काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न उनको निवासमा पुगेका छन्।
गौतमका सहयोगी विश्वमणि सुवेदीका अनुसार दुवै नेताबीच पार्टीभित्र देखिएको विवादलगायत विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि सहभागी छन्।
पार्टीभित्रको विवादका कारण महिना दिनयता नेकपाको स्थायी कमिटी बैठक बस्न सकेको छैन।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेयता पार्टीमा विवाद देखिएको हो।
दाहाल-नेपाल पक्षले राजीनामा मागे पनि प्रधानमन्त्री ओली भने पद नछाड्ने अडानमा छन्।
उपाध्यक्ष गौतमले आज मात्रै पार्टीमा देखिएको विवाद समाधानका लागि ६ बुँदे सुझाव पेस गरेका थिए।
उनले एकता महाधिवेशनसम्म ओली अध्यक्ष कायमै रहने र प्रतिनिधि सभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री पनि रहने सुझाव दिएका छन्।
त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहनेलगायतका सुझाव पेस गरेका छन्।
गौतमको सुझाव पत्रसहित पछिल्लो समय देखिएको विवादकै बीच प्रधानमन्त्री नै उनलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मंगलबार बस्ने तय भएको नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले स्थगित गरेका थिए। त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र झलनाथ खनालले ओलीसँग भेट गरेका थिए।
उक्त भेटपछि दाहालको अध्यक्षतामा दाहाल–नेपाल समूहका मात्रै सदस्य सहभागी बैठक भएको थियो।