काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्। प्राय: सरकारको मूल्यांकनको अवधि कम्तिमा एक सय दिनलाई मान्ने गरिन्छ। तर, दुई महिना पुगेलगत्तै एमाले नेताले भने देउवा नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा सांसद पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म 'बजेट होलिडे' नभएको स्मरण गराउँदै दुई महिनामा पनि मन्त्रपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको दाबी गरे।
उनले संविधान संशोधन गर्ने कुरा, दलित, महिलाहरुको अधिकारका लागिभन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्नेतर्फ केन्द्रित भएको बताए। सांसद पोखरेलले नेपालको संविधान विश्वमै सबैभन्दा राम्रो भएको दाबी गरे।
सांसद पोखरेलले भने, ‘शेरबहादुर देउवाको जस्तो असफल सरकार यो दुई महिने कार्यकालमा मैले देखेकै थिइनँ। नेपालको इतिहासमा 'बजेट होलिडे' भन्ने कहिल्यै पनि भएको छैन। सामान्य यति कुरासम्मको हिसाब राख्न नसक्ने मान्छे दुई महिनासम्म सरकारमा मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्ने मान्छे, पार्टी फुटाउनका लागि विधेयक ल्याउने मान्छे, लोकतन्त्र बलियो बनाउन दल बलियो बनाउनुपर्छ भनेर लेख्ने मान्छे, दलहरुसँग छलफल नै नगरी आज संसदको अन्त्य गरेर १२ बजे अध्यादेश ल्याउने २ बजे दल दर्ता गर्ने, यो भन्दा असफल सरकार मैले नेपालको इतिहासमै देखेकै छैन।'