काठमाडौं– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खरबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताए। आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे।
अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे। चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भए पनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए। जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानुनको परिधि भित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।