काठमाडौं- जिल्ला प्रहरी कार्यालय स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ।
डीएसपी राजेन्द्रप्रसाद अधिकारीले तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको जानकारी दिए।
‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधरण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ’ अधिकारीले भने, ‘अति जरुरी निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा इमेलबाट पठाउन सकिने व्यवस्था गरिएको छ।’
अधिकारीका अनुसार दुई जना कार्यलयभित्र र एक जना बाहिर खटिने कर्मचारीमा संक्रमण देखिएको छ। तीनै जनालाई पुतलीबजार नगरपालिका–११ स्थित आइसोलेसन वार्डमा राखिएको उनले जानकारी दिए।
अधिकारीका अनुसार कार्यालयमा ८९ जना कार्यरत छन्। जसमध्ये कोरोना परीक्षणका लागि बुधबार ३० जनाको स्वाब संकलन गरिरएको छ। बाँकीको बिहीबार संकलन गरिने छ।
सबैको कोरोना परीक्षण रिपोर्ट नआउँदासम्म कार्यालय प्रवेशमा रोक लगाइएको अधिकारीले बताए।