काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण जोखिमका बेला गरिएको लकडाउनको कुनै उपलब्धि हासिल हुन नसकेको जनाएको छ।
सत्तासीन दल सत्ता संघर्ष र भ्रष्टाचारमा लिप्त भएकाले लकडाउनका बेला अर्बौंको नोक्सान मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
उनले बुधबार ट्विट गर्दै सत्तासीन दल विवादास्पद अध्यादेश, दल फुटाउने षड्यन्त्र, सांसद अपहरणको मुद्दा, प्रधानमन्त्री केपी शर्मा ओलीका विवादास्पद अभिव्यक्ति, राष्ट्रपति संस्थाको दुरुपयोगमा केन्द्रित भएकाले लकडाउनको उपलब्धि शून्य भएको बताएका हुन्।
यस अवधिमा स्वास्थ्य सामग्रीमा अपर्याप्तता र खरिदमा भ्रष्टाचार, मृत्युपछि पीसीआर परीक्षण, क्वारेन्टिनमा मृत्यु, आत्महत्या र बलात्कारका घटना भएको उनको भनाइ छ।
यसबाट अर्थतन्त्रमा अर्बौंको क्षति भएको तर उपलब्धि शून्य भएको शर्माले उल्लेख गरेका छन्। शर्माले भनेका छन्, ‘लकडाउन गर्दा सबैले सरकारलाई सघायौं, फरक मत राखेनौं।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्, ‘अब समीक्षा गरौं, संक्रमित बीस हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित दुई हुँदा लकडाउन गरेर हामीले सही गरेका रहेछौंं कि गल्ती?’
शर्माले लकडाउन गरेर सही वा गल्ती के गरियो त्यसको समीक्षा हुनुपर्ने माग राखेका छन्।
उनले प्रश्न गरेका छन्, ‘संक्रमित २० हजार पुग्न लागेका बेला लकडाउन खुला गर्न सकिन्छ भने दुई जना मात्रै संक्रमित भएका बेला किन लकडाउन गरियो?’
सरकारले चैत ११ देखि लागू गरेको लकडाउन मंगलबार अन्त्य गरेको थियो। लकडाउन गर्दा मुलुकमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको थियो।
लकडाउन खुलाउँदा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यीमध्ये १२ हजार ६८४ जना कोरोनामुक्त भएका छन्। कोरोना भाइरस संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ।
लकडाउन खुलाउँदा कोरोना भाइरसबाट ४२ पुगेको छ। बुधबारसम्म कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये १२ हजार ६८४ जना कोरोनामुक्त भएका छन्।