सप्तरी- राजविराजमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।
गएको शुक्रबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका राजविराजका एक व्यक्तिको परिवारसँग सम्पर्कमा आएका थप १३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट ती व्यक्तिको मृत्यु भएपछि उनका परिवारका सदस्यको जाँच गर्दा परिवारका पाँचै जना सदस्यमा पनि संक्रमण पुष्टि भएको छ।
त्यसपछि परिवारसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
संक्रमित हुनेमा १५ देखि ६३ वर्ष उमेर समूहका छन्।
संक्रमितमध्ये मृतकको छोरासँगै काम गर्ने एक पुरुष र उनकी श्रीमती पनि छन्। त्यसैगरी मृतकको पसलमा काम गर्ने दुई कामदारमा पनि संक्रमण देखिएको छ।
सप्तरीमा हालसम्म ४०४ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा अर्को आदेश नआउन्जेलसम्मका लागि रोक लगाइएको उल्लेख छ।
मृतकपछि उनको परिवार र अन्य सदस्यमा पनि संक्रमण देखिएपछि यादवले कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए।
हिजै १२० जनाको स्वाब संकलन गरेको बताउँदै उनले कुल ३ सय जनाको स्वाब लिनुपर्ने जनाए।