काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा आबद्ध केही दलभित्रकोआन्तरिक व्यवस्थापनको अलमलका मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्। शनिबार गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरूबिच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाइ भए पनि अब चाँडै सरकारले पूर्णता पाउने बताए।
सिंहले कम्युनिस्टहरूको दुई तिहाइको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै अहिलेको गठबन्धन बनेको बताए। उनले कम्युनिस्टहरू असफल हुँदा त्यसको प्रतिफलस्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए।
कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो । सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधान अनुसार समधान गर्नुपर्ने बताए।
उनले संस्थापन इतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको र त्यसका लागि निरन्तर छलफल भइरहेको बताए। यद्यपि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने उनको भनाइ थियो।
कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरे। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताए।