शनिबार राति अन्तिम अर्थात् ३८ औं चरणका सबै खेल सम्पन्न भएसँगै स्पेनिस ला लिगाको २०१९/२० को सिजन सकिएको छ। ३८ औं चरणअन्तर्गत सबै १० खेल गए राति नै सम्पन्न भए।
शनिबार रातिको पहिलो खेलमा बार्सिलोनाले अलाभेसको मैदानमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्यो। बार्सिलोनाले अवे मैदानमा निकालेको जित नै ला लिगाका अन्तिम चरणको सबैभन्दा ठूलो अंकदुरीको जित रह्यो।
अलाभेस ५–० गोल अन्तरले आफ्नै मैदानमा पराजित भयो। उसले लियोनेल मेस्सीको दुई, साथै अन्सु फाती, लुइस सुआरेज र नेल्सन मेमेदोको एक १/१ गोलको सामना गर्यो। बार्सिलोना ८२ अंकका साथ दोस्रो स्थानमा रह्यो भने अलाभेस ३९ अंकका साथ १६ औं स्थानमा।
त्यस्तै, दोस्रो खेलमा भिल्ला रियलले घरेलु मैदानमा आइबरलाई ४–० गोल अन्तरले पराजित गर्यो। जहाँ गेरोर्ड मोरेनोले दुई गोल गरे भने आन्द्रे अन्गुइसा र मोइ गोमेजले १/१ गोल गरे।
भिल्ला रियल पाँचौ स्थानमा रहँदै अर्को सिजनको युरोपा लिगमा प्रवेश गरेको छ। उसको ६० अंक छ। पराजित आइबर ४२ अंकका साथ १४ औं स्थानमा छ।
तेस्रो खेलमा भालाडोलिडले जोजे जोरिल्ला रंगशालामा रियल बेटिसलाई २–० गोल अन्तरले हराएको छ। सर्जियो नवारो र ओस्कार प्लानोले १÷१ गोल गर्दै घरेलु टिमलाई जिताए। जितसहित अंकतालिकामा ४२ अंक बनाएर भालाडोलिडले १३ औं स्थानमा रहँदै जारी सिजनको सुखद अन्त्य गरेको छ भने पराजित बेटिस ४१ अंक बनाउँदै १५ औं स्थानमा बस्यो।
त्यस्तै, अर्को खेलमा ओसासुनाले घरेलु मैदानमा मायोर्कासँग बराबरी खेलेको छ। बराबरीका साथै ५२ अंक बनाएर ओसासुनाले १० औं स्थानमा ठाउँ सुरक्षित गरेको छ भने मायोर्का पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनमा परेको छ। मायोर्काको ३३ अंक छ।
त्यस्तै, एट्लेटिको मड्रिडले रियल सोसिडासँग १–१ गोलको बराबरी खेल्दै तेस्रो स्थानमा ठाउँ सुरक्षित गरेको छ। एट्लेटिकोले अंकतालिकमा ७० अंक बनाएर अर्को वर्षको च्याम्पियन्स लिगमा स्थान बनाउँदा रियल सोसिडाडले ५६ अंकका साथ छैटौं स्थान सुरक्षित गरेको छ। उसको ५६ अंक छ भने अर्को सालको युरोपा लिगमा प्रतिस्पर्धा गर्न पाउने भएको छ।
लेभान्टेले घरेलु मैदानमा गेटाफेलाई पराजित गर्दै १२ औं स्थान सुरक्षित गरेको छ। उसले गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्यो। हारका बाबजुद गेटाफे ५४ अंकका साथ आठौं स्थानमा छ।
ग्रनाडाले पनि लिगको अन्तिम खेलमा सानदार जित निकालेको छ। उसले एथ्लेटिक क्लबविरुद्ध ४–० गोल अन्तरले जित निकालेको हो। जितसहित ५६ अंक बनाएको ग्रनाडा सातौं स्थानमा छ। उसले समान ५६ अंक रहेको रियल सोसिडाडसँग हेड टु हेडका आधारमा पछि रहँदै अर्को सालको युरोपा लिगमा स्थान बनाउन सकेन। त्यस्तै, पराजित एथ्लेटिक क्लब भने ५१ अंकका साथ ११ औं स्थानमा छ।
अन्तिम चरणको खेलमध्ये एस्पानोयल र सेल्टा भिगोले मात्र गोलरहित बराबरी खेलेका छन्। निर्धारित अवधिसम्म पनि गोल नभएपछि दुवै क्लबले अंक बाँडेका छन्। बराबरीसँगै २५ अंक बनाएको एस्पानोयल अंक तालिकाको पुछारमा छ भने सेल्टाले ३७ अंक बनाएर रेलिगेसनबाट एक अंकले बचेको छ। पुछारबाट तेस्रो स्थानमा रहेको लेगानेसको ३६ अंक छ।
गए रातिकै खेलमा लेगानेसले लिगविजेता रियल मड्रिडसँग २–२ गोलको बराबरी खेलेको थियो। एक खेलअगावै लिग विजेता बनिसकेको रियलका रामोस र एसेन्सियाले गोल गरेका थिए भने लेगानेसका ब्रायन गिल र रोजर आसलेले पनि गोल गरे। रियल ३४ औं पटक ला लिगा विजेता बन्दै सिजन सिजनको सुखद अन्त्य गर्यो भने लेगानेस रेलिगेसनमा पर्यो। तर, अन्तिम खेल बराबरी खेले।
गए रातिको अन्तिम खेलमा सेभियाले घरेलु मैदानमा भ्यालेन्सियाविरुद्ध १–० गोल अन्तरको जित निकालेको छ। जितसहित चौथो स्थानमा रहेर सेभियाले अर्को वर्षको लागि च्याम्पियन्स लिगमा ठाउँ सुरक्षित गरेको छ। त्यस्तै, पराजित भ्यालेन्सिया ५३ अंकका साथ नवौँ स्थानमा छ।
यो सिजनबाट शीर्ष चारमा रहँदै रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड र सेभियाले अर्को वर्षको च्याम्पियन्स लिगमा प्रवेश पाएका छन्। त्यस्तै, भिल्ला रियल र रियल सोसिडाडले युरोपा लिगमा प्रवेश पाएका छन् भने लेगानेस, मायोर्का र एस्पानोयल रेलिगेसनमा परेका छन्।

