काठमाडौं- शनिबार देशभरको क्रियाशील सदस्यता विवाद टुंगो लगाउनले कांग्रेसका शीर्ष नेताहरूबीच सहमति भएको छ। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले क्रियाशील सदस्यता विवाद शनिबार लगाउने सहमति जुटाएको हो।
प्रधानमन्त्री निवासमा भएको छलफलमा क्रियाशील सदस्यताको विवाद भएका १३ जिल्लाका विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार शनिबार सबै जिल्लाको विवाद समाधान गर्न भेटमा सहभागी सबै नेता सहमत छन्। 'भोलि दिउँसोसम्म सदस्यताको टुंगो लगाउने सहमति भएको छ,’ उनले भने।
वडा अधिवेशन हुन बाँकी जिल्लामा ५ असोजमा वडा तहको अधिवेशन गर्ने मिति तोकिएको छ। तर, शुक्रबार अबेरसम्म पनि १३ जिल्लाका क्रियाशील सदस्यकै टुंगो छैन।
बैठकमा महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सिटौला नेतृत्वको कार्यदलका सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए।