दुई सिजन लगातार च्याम्पियन बन्न नसकेको रियल मड्रिड गए रातिको खेलमा भिल्लारियललाई हराएसँगै स्पेनिस च्याम्पियन बन्यो। प्रशिक्षक जिनेदिन जिदानेले रियल मड्रिडबाट दोस्रो पटक स्पेनिस लिग जिते, युवा खेलाडीको स्टेडियो अल्फ्रेदो रंगशालामा।
उसो त रियलले सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्दा प्रशिक्षक जिदाने नै थिए। उनी लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षकसमेत बने।
सन् २०१६ मा इटालीको सान सिरो मैदानमा एट्लेटिको मड्रिडलाई हराउँदै जिदानेले पहिलोपटक च्याम्पियन्स लिग जिते, प्रशिक्षकका रुपमा। त्यो सिजनमा १२० मिनेटसम्म खेल हुँदा पनि १–१ को बराबरीमै खेल रोकियो। दुवै टोलीले जित निकाल्न सकेनन्।
खेलको निर्णय टाई ब्रेकरबाट हुने भयो। तर, चौथो गोलमा एट्लेटिकोले स्कोरिङ गर्न नसकेपछि रियलले ५–३ को जित निकाल्यो। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँचौं गोल गर्दा उनी पहिलो पटक च्याम्पियन प्रशिक्षक बने।
अर्को वर्ष (सन् २०१७)को च्याम्पियन्स लिग फाइनल त जिदानेका लागि अझै सफल बन्यो। वेल्सको राष्ट्रिय मेलेनियम रंगशालामा भएको खेलमा जिदानेले इटालियन च्याम्पियन युभेन्ट्सलाई ४–१ गोल अन्तरले हराए। त्यो खेलमा रोनाल्डोले दुई गोल गरे भने कासिमेरो र मार्को एसेन्सियोले १/१ गोल गरे।
जिदानेले लगातार तेस्रो पटक च्याम्पियन्स लिग युक्रेनको एनएससी ओलिम्पिस्किय रंगशालामा जिते। त्यो सिजन रियलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको थियो, जसमा करिम बेञ्जेमाले एक गोल गरेका थिए। बेलले जिदानेलाई सम्मानसाथ दुई गोल उपहार टक्र्याए। त्यसकै बलले हो- जिदानेले लगातार तीन पटक उपाधि जितेको।
त्यो जितपछि जिदानेले भनेका थिए, “लगातार तीन पटक च्याम्पियन्स लिग जित्नु भनेको सानदार कुरा हो। मलाई विश्वास नै लागिरहेको छैन कि हामीले यो फेरि जित्यौँ...। ग्यारेथको गोल सानदार थियो। म उनलाई धन्यवाद दिन चाहान्छु।”
“के तपाईं लगातार चौथो सिजन पनि जित्न चाहानु हुन्छ?” भन्ने पत्रकारको प्रश्नमा उनले त्यतिबेला भने, “हामी पहिले यो जित सेलिब्रेसन गर्छौं। हामीसँग अझै जटिल सिजन बाँकी नै छ।” उनले सीधा उत्तर दिएनन्।
२०१८ मे २७ मा उनले तेस्रो पटक युरोपको सबैभन्दा ठूलो प्रतियोगिता जिते। तर, त्यसको चार दिनपछि नै क्लब छोडे।
“यो सबैका लागि उत्तम समय हो। तर, यो काम सबैलाई अनौठो लागिरहेको होला। मलाई लाग्छ– यो क्लबले जितिरहनु पर्छ,” उनले थपे, “तीन वर्षपछि क्लबमा परिवर्तन अत्यावश्यक छ। खेलमा अर्को तरिका विकास हुनुपर्छ, जसकारण मैले क्लब छोड्ने निर्णय गरेँ।”
उनको यो निर्णयले रियलका सबै समर्थकलाई चकित बनायो। उनले दोस्रो पटक क्लब छोडे। सन् २००१ बाट ६ वर्ष रियलमा खेलेका उनले २००६ मा खेलाडीका रुपमा पहिलो पटक क्लब छोडेका थिए भने २०१८ मा प्रशिक्षकका रुपमा क्लब छोडे।
त्यस अवधिसम्म जिदानले क्लबबाट फिफा क्लब विश्वकप दुई पटक, एक युईएफए सुपर कप र एक सुपरकोपा डी स्पाना पनि जितिसकेका थिए। त्यसअघि नै उनी बेस्ट फिफा मेन्स कोच–२०१७ घोषित भएका थिए।
यता, उनको बहिर्गमनसँगै क्लबले राम्रो खेल प्रस्तुत गर्न नसकेपछि २०१९ मार्चमै क्लबमा फर्किए।
खेलाडीका रुपमा पनि सफल
जिदाने प्रशिक्षकका रुपमा मात्र नभइ खेलाडीका रुपमा पनि सफल रहे। उनले सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकप जिते।
१२ जुलाई मा भएको विश्वकप फाइनल खेलमा ब्राजिलले ३–० गोल अन्तरले पराजित हुँदै आयोजक फ्रान्सलाई विश्वकपको उपाधि सुम्पिएको थियो। १६ औं संस्करणको फिफा विश्वकपमा जिदाने राष्ट्रिय टिमका एट्याकिङ मिडफिल्डर समेत थिए। फाइनल खेलमा उनले २ गोल गरे।
त्यो नै फ्रान्सले जितेको पहिलो विश्वकप थियो। आयोजना भने दोस्रो (पहिलो १९३८मा)।

फ्रान्सको त्यतिबेलाको टिमलाई ‘अल स्टार टिम’ नामाकरण समेत गरिएको थियो, जसमा विश्वकै दिग्गज खेलाडीहरु थिए।
विश्वकप जितेकै वर्ष उनी ‘लेजियन डि‘अन्नेउर’ उपाधिले सम्मानित बने, जुन उपाधिको सुरुवात नेपोलियन बोनापार्टले सन् १८०२ मा गरेका थिए। त्यसपछि अन्य शासन र फ्रान्स सरकारले पनि मान्यता दिँदै गयो।
फ्रान्सले सन् २००० मा युईएफए युरो कप जित्दा जिदाने प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। जिदाने २००६ को विश्वकपमा पनि प्लेयर अफ द टुर्नामेन्ट बन्दै गोल्डेन बल पाए।
त्यसको २ वर्षपछि सम्पन्न च्याम्पियन्स लिगको त कुरै भएको छैन, जुन उनले सन् २००२ मा जितेका थिए। रियल मड्रिडमा आएको अर्को वर्ष नै उनले युरोपियन शीर्ष लिग प्रतियोगिता जिते। प्रतियोगिताअन्तर्गत फाइनल खेलमा उनले गरेको गोल लिगको इतिहासकै एक उत्कृष्ट गोलका रुपमा लिइन्छ।

उनलाई फिफाले शीर्ष १०० खेलाडीको सूचीमा समेत राखेको थियो, सन् २००४ मा। त्यसै वर्ष युरोपियन फुटबलले गोल्डेन जुब्ली पोलको मद्दतले उनलाई विगत ५० वर्षकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो।
यता, सन् १९९८ का बेलोन डोर अवार्ड जितेका जिदाने तीन सिजनसम्म शीर्ष तीनको प्रतिस्पर्धामा थिए।

यति मात्र होइन, उनले इटालियन युभेन्ट्सबाट सिरी ए जिते भने रियल मड्रिडबाट स्पेनिस ला लिगा। पाँच सिजन इटालियन क्लब युभेन्ट्समा बिताएपछि कीर्तिमानी मूल्य ७७.५ मिलियन युरोमा उनी २००१ मा रियल मड्रिडमा अनुबन्धन भएका थिए। त्यहाँ उनले ५ वर्ष खेले। र, ला लिगा उपाधि जिते।
यस्तै, तमाम उपलब्धिका साथ फ्रान्सको चौथो सबैभन्दा लोकप्रिय खेलाडी बन्दै जिदानेले सन्यास लिए।
खेलाडीको रुपमा बिदा भए तापनि फुटबलबाट उनको मन कहिल्यै मरेन। प्रशिक्षकका रुपमा फेरि फुटबलमै फर्र्किए। यसपटक उनी खुट्टाले होइन, दिमागले खेल्ने गरि मैदान फर्किए, सन् २०१४ मा।
सुरुवाती २ वर्ष कास्तिल्ला (सेकुन्डा खेल्ने रियलकै टिम) सम्हालेपछि सन् २०१६ मा उनले मुख्य टिमको जिम्मेवारी पाए। त्यसयता ९ महिना क्लबबाहिर रहे पनि फेरि क्लबमै फर्किए। प्रशिक्षककै रुपमा जसको नतिजा हो गए राति रियलले जितेको ला लिगा। प्रशिक्षकका रुपमा भने उनले दाेस्राे पटक जितेका हुन्।
सो जितपछि उनले च्याम्पियन्स लिग जितेभन्दा धेरै खुसी मिलेको बताए। जिदाने फिफा विश्वकप २०२२ का लागि कतारले बोली लगाउँदा कतारका एम्बेस्डरसमेत थिए।