काठमाडौं– लकडाउनले धेरैको कार्यतालिका अस्तव्यस्त भए पनि सिक्ने सिकाउने शृंखलामा भने नयाँ आयाम थपिएको छ।
प्रविधिको सहयोगले जिज्ञासुका धेरै चाहना सम्बोधन हुन थालेका छन्। अनलाइनबाट नियमित कक्षामा मात्र होइन, बालबालिकाको सिकाइका अन्य क्षेत्रमा पनि संलग्नता बढेको छ। नियमित कक्षाबाहेक केही बालबालिकाले असारदेखि अनलाइनबाट संस्कृत शिक्षाको पनि अध्ययन गर्न थालेका छन्।
संस्कृतको आधारभूत ज्ञान लिनेमा कक्षा ४ देखि १० सम्मका २५ बालबालिका छन्। यस्तै संस्कृत अध्ययनमा सरकारी सेवाबाट अवकाश पाएका र मुलुकका प्रबुद्ध व्यक्ति पनि आकर्षित हुन थालेकाे पाइएकाे छ।
कक्षा १० मा अध्ययनरत कपनकी साम्भवी सुवेदीले अनलाइनमा संस्कृत कक्षा रुचिकर र सहज लागेको बताइन्।
‘सुरुमा त गाह्रो होला भन्ने लागेको थियो तर एकदुई दिनको कक्षापछि पाठ सजिलो लागेको छ,’ उनले भनिन्, ‘संस्कृत पढ्न सकिँदो रहेछ भन्ने आत्मविश्वास जागेको छ। नयाँ भाषा जान्न थालेकी छु।’
उनीजस्ता धेरै बालबालिकालाई संस्कृत भाषा सिक्ने अवसर जुटाइदिएको हो– समज्ञा संस्कृत अभियानले।
अभियानले असार पहिलो सातादेखि अनलाइन संस्कृत कक्षा सञ्चालन गरिरहेको छ। कक्षा सञ्चालन आइतबारदेखि बिहीबारसम्म साँझ ७ बजेदेखि ८ बजेसम्म हुन्छ।
जुममार्फत भइरहेको अनलाइन कक्षाको सकारात्मक प्रतिक्रिया आइरहेको समज्ञा संस्कृत अभियानका अभियन्ता रोहिणीराज तिमिल्सिनाले बताए।
‘हामीले २५ जना मात्र पढाउने भनेका थियौं तर दबाबका कारण २६ जना बालबालिकालाई पढाइरहेका छाैं। कतिपयलाई भने अर्काे सत्रमा पढाउने याेजना छ’ तिमिल्सिनाले भने, ‘आधारभूत रुपमा एक महिना पढाउने योजना हाे।’ उनले विद्यार्थी तथा अभिभावकबाट सकारात्मक प्रतिक्रिया आएको बताए।
विद्यार्थीको पनि संस्कृत कक्षामा रुचि देखिएको तिमिल्सिनाको भनाइ छ।
कक्षा ५ मा अध्ययनरत भक्तपुर निकोसेराका हृदम न्यौपाने नयाँ भाषा सिक्न पाउँदा उत्साहित छन्। उनी भन्छन्, ‘नयाँनयाँ कुरा सिकिरहेका छौं। रमाइलो लागेको छ। कक्षा सधैं भइदिए हुन्थ्यो जस्तो लाग्छ।’ कक्षा ५ मा अध्ययनरत चाबहिलका सर्वेश घिमिरेचाहिँ स्कुल नलागेका बेला संस्कृतका गुरुसँग नयाँ कुरा सिक्न पाएकाे बताउँछन्।
‘बालबालिका संस्कृत सिकाइमा सक्रिय छन्’, अभिभावक शान्त खरेलले भने, ‘यो कक्षालाई तीन महिना निरन्तर गर्न सकियो भने उनीहरूमा एक तहको संस्कृत बुझाइ हुनेछ।’ सात कक्षामा अध्ययनरत उनकी छोरी माधवी खरेल संस्कृतको व्यावहारिक ज्ञान पाउँदा उत्साह थपिएको बताउँछिन्।
लकडाउनका कारण अनलाइनमा सीमित भए पनि अभियान देशव्यापी रुपमा संस्कृत भाषा शिक्षणमा सक्रिय छ।
अभियानले २०७० सालदेखि संस्कृत भाषामा प्रशिक्षण दिँदै आएको छ। समज्ञा संस्कृत अभियन्ता तिमिल्सिनाले भने, ‘नयाँ पुस्ता संस्कृत शिक्षाबाट विमुख हुन लागेकाले थोरै भए पनि संस्कृतसँग साक्षात्कार गराउने उद्देश्यले स्वंयसेवाको भावसहित अभियान थालिएको हो।’
‘धादिङ र मकवानपुरका केही निजी स्कुलमा संस्कृत कक्षा सुरु भएको छ,’ तिमिल्सिनाले भने, ‘अन्य ठाउँबाट संस्कृत कक्षाका लागि माग आएको छ।’
समज्ञाले विभिन्न संघसंस्थासँग मिलेर निःशुल्क रुपमा आधारभूत संस्कृत कक्षा सञ्चालन गर्दै आएको छ। ‘हामीले नेपाल आर्य समाजसँगको सहकार्यमा तीन महिने संस्कृत कक्षा सञ्चालन गरिरहेका थियौं। लकडाउनले गरेर आधा अवस्थामा पुगेर रोकिएको छ,’ तिमिल्सिनाले भने, ‘त्यो सहकार्य निरन्तर हुनेछ ।’
प्रबुद्ध व्यक्ति पनि आकर्षित
बालकक्षाजस्तै समज्ञाले प्रौढहरुका लागि पनि अनलाइनमा संस्कृत भाषाको कक्षा सञ्चालन गरेको छ। कक्षामा संस्कृत सिक्नेको उत्साहप्रद उपस्थिति छ। ‘पूर्वराजदूत, पूर्वप्रशासकलगायतका प्रबुद्ध व्यक्तिहरु संस्कृत पढ्न उत्साहित देखिनुभएको छ,’ अभियानका संयोजक जयप्रकाश गुरागाइँले भने। प्रबुद्ध कक्षा तीन महिनाका लागि चल्ने उनले बताए।
‘संस्कृत संरक्षणमा इँटा थप्ने प्रयास’
‘संस्कत भाषा बोलीचालीबाट हराएको हजार/पन्ध्र सय वर्ष भयो भन्ने गरिन्छ। यद्यपि यो भाषा यति जीवन्त छ कि कहिल्यै मर्दैैन,’ शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल भन्छन्, ‘साना कक्षाका विद्यार्थीलाई संस्कृतको आधारभूत ज्ञान दिन सकियो भने उनीहरूले संस्कृतबाट विकसित भएका नेपाली, मैथिली, बंगाली, भोजपुरी, हिन्दीलगायतका अनेकौं भाषामा दृढताका साथ प्रस्तुत हुन सक्ने क्षमता राख्छन्।’
विश्वव्यापीकरणले नेपाली बालबालिका अंग्रेजीमा दख्खल राख्न सक्ने देखिए पनि नेपालीमा औसतभन्दा पनि कमजोर भएको अवस्थामा संस्कृत भाषा ज्ञानले नेपालीलगायतका स्थानीय भाषामा विद्यार्थीले राम्रो गर्नसक्ने तर्क दाहालको छ।
‘संस्कृत भाषा राज्यको संरक्षणमा अघि बढेको होइन। यसलाई मन पराउने, ज्ञानप्रेमी, अनुरागी साहुमहाजन र सम्भ्रान्त व्यक्तिले संस्कृत शिक्षाका लागि संस्थापना गरिदिएको गुठी, ट्रस्टले यो भाषा जोगिएको हो,’ दाहालले भने, ‘समज्ञाले गरेको प्रयास विगतदेखि समुदाय स्तरबाट भएको संस्कृत उत्थानको निरन्तरताको अर्को खुड्किलो हो। संस्कृतको संरक्षण र प्रसारमा इँटा थप्ने यो प्रयास प्रशंसनीय छ।’