काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो। पत्रकारसँगको सक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्योयोचित ढंगले हुनुपर्ने बताएका हुन्।
वरिष्ठ नेता पौडेलले भने, ‘पहिला पनि मैले सभापतिलाई त्यहाँ मिस भयो, मिटिङ् बोलाऊँ, तुरुन्त निर्णय दिऊँ भने, अहिले पनि त्यहाँ मिस भयो, भनेको छु, आठ वटा कल्स्टर छ। त्यसका मान्छेहरु क-कसको कहाँ-कहाँ कसको प्रतिनिधित्व हुने भयो, कसको हुने भएन कहाँनेर ल्यापशेस छ, त्यो कुरा समीक्षा गरेर निर्णय गरेर पठाइदिनुपर्यो,अब यो दंगा फसाद गराउने कुरा छैन। पार्टीको बीचमा कति सत्याग्रह गर्ने ? त्यहाँ शेरबहादुर भन्दा सिनियरहरु आएर बसेका छन्, यस्तो किसिमको लठाभद्र पारेर के गर्न खोजेको सभापतिलाई गएर भनेका छौँ, मिटिङ्ग बोलाउँ, उहाँहरुको तत्काल सम्बोधन गर्नुपर्छ मेरो कुरो त्यही छ, आज निर्वाचन समितिलाई हामीले हाम्रो कुरा राख्यौँ, जहाँसुकै समस्या आयो, डडेल्धुरादेखि ठाउँठाउँमा हेरेर न्यायपूर्ण ढंगले तपाईले न्यायोचित निर्णय गर्नुहोस्, उहाँहरुको त्यत्रो माग आएको छ, पुनर्निवाचन हुनुपर्छ, र न्योचित ढंगले त्यहाँको समस्याको समाधान गर्नुपर्छ ।’
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए। उनले हजारौं संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रजातन्त्र विपरीत चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए।
महामन्त्री कोइरालाले भने, ‘डडेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ प्रहरी अफिसर गए, त्यो डेमोक्रेसीको पक्षमा भएन भन्ने कुरा राख्दा उहाँहरुले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो, अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली कांग्रेसको इतिहासमै नभएको बताए। उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताए।
नेता कोइरालाले भने, ‘निर्वाचन आयोगलाई बिहीबार हामीले भेटेर डेमोक्रेसी अफ्ठ्यारोमा परेको छ, कसरी बचाउन सकिन्छ, तपाईंहरुले निष्पक्ष न्याय दिनुहोस् भन्ने कुरा हो, उहाँहरुले पुनः निर्वाचन हुनुपर्छ भन्ने कुरामा हेर्दै हुनुहुन्छ, सम्बन्धित पक्षसँग पनि र अधिकृतलाई पनि बोलाउँछु भन्नुभएको छ। नेपाली कांग्रेसको इतिहासमा प्रहरी प्रशासन लगाएर वडाको वा कुनैपनि अधिवेशन ७५ वर्षको नेपाली कांग्रेसको इतिहासमा कहिले पनि भएको थिएन, यो दुर्भाग्य हो, सभापतिजीको जिल्ला, प्रधानमन्त्रीजीको जिल्ला त्यसरी अधिवेशन गराउनु जसमा जिल्ला सभापति र दुई तिहाइ जिल्लाका सदस्यहरुले भाग नलिने अधिवेशन कस्तो अधिवेशन हुन्छ ?भनेर हामीले कुरा राख्यौँ ।’
पौडेल समूह क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ती जनाउँदै आएको छ।