काडमाडौं- असोज १० गतेबाट १६ गतेसम्म काठमाडौंमा छैटौं एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पिनसिप आयोजना हुँदैछ। यसपाली प्रायोजक नपाएको भन्दै भलिबल संघले यसअघि क्लबलाई प्रदान गर्दै आएको सानै भएपनि आर्थिक सहायता कटौती गरेको छ। उता क्लबहरू भलिवल संघले नै केही आर्थिक भार व्यहोरिदेओस् भन्ने चाहन्छन्। संघ भने क्लबले आ-आफैँ खर्चको व्यवस्थापन गर्नुपर्ने बताएको हो।
‘अहिले भलिबल संघले सबैको खर्च व्यहोर्ने भन्ने हो भने नेपालको ७७ वटै जिल्लाका क्लबले भाग लिन्छन्। राखेपले दुई वर्षमा एक प्रतियोगिता गर्छ। सबै आउँछन्। तर हामीले गराउनेमा आउँदैनन्, किनभने अर्थिक अभाव छ,’ एनभीए महासचिव जितेन्द्र बहादुर चन्द भन्छन्, 'आर्थिक व्यवस्थापन हुन सके धेरै क्लबहरूको सहभागितमा प्रतियोगितामा हुने निश्चित जस्तै हो।'
भलिबल विकासका लागि ग्रासरुटमा खेल हुनु आवश्यक छ। जसका लागि राज्यले लगानी गर्नु त पर्छ नै। तर, त्यसको सुरुआत गर्ने काम भने भलिबल संघको नै हो। भलिबल संघ नै राज्यको मुख ताकेर बसिरहेको छ। ‘संघ एक्लैले भलिबलको विकास गर्न सक्दैन। सबै यसमा लाग्नुपर्छ,’ चन्दले भने, ‘पुरस्कार रकम बढाउनुपर्छ भन्ने क्लबको माग भएकाले ६०/७० हजार बढाएर हुँदैन डबल बनाउनु पर्छ भन्ने भएकाले यसपाली हामीले पुरस्कार रकम चाहिँ बढायौँ। तर क्लबको खर्च व्यवस्थापनका विषयमा निर्णय भएको छैन।’
भलिबल क्लबले आफैँ स्पोन्सर खोजेर क्लबको खर्च व्यवस्थापन गर्न सक्नुपर्ने उनको आशय थियो। तर, भलिबल संघले वर्षभरमा एकपटक आयोजना गर्ने कार्यक्रम नै एक हप्ताको छ। यसले गर्दा प्रोयोजकहरू क्लब र संघलाई स्पोन्सरिङका लागि तयार हुँदेनन्।
एनभीए महासचिव जितेन्द्र बहादुर चन्द भन्छन्, 'आर्थिक व्यवस्थापन हुन सके धेरै क्लबहरूको सहभागितमा प्रतियोगितामा हुने निश्चित जस्तै हो।'
एक हप्ताको प्रतियोगिताको लागि आयोजकले त स्पोन्सर पाउन सक्ला। तर क्लबले पाउन मुस्किल छ। वर्षमा एक हप्ता मात्र कार्यक्रम हुँदा क्लबलाई त्यो अनुसारको स्पोसर खोज्न गाह्रो पर्ने गरेको छ। तर, पछिल्लो सिजनको क्लब लिग सञ्चालन हुँदै गर्दा संघको एक पदाधिकारीले क्लबहरुले नै धेरै दिनको प्रतियोगिता नचाहने दाबी गरेका थिए।
ती पदाधिकारीका अनुसार क्लबहरुले खेलाडी धेरै दिन पाल्न नसक्ने भन्दै लामो प्रतियोगिता नै चाहँदैनन्। त्यसैले प्रतियोगिता लामो नहुनेपछि संघ वा क्लबले ठूलो स्पोन्सर खोज्नु हास्यास्पद हुने उनको भनाइ छ।
000
प्रतियोगिताबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। खर्च व्यवस्थापनका विषयमा केही क्लबका व्यवस्थापक र पत्रकारहरूले प्रश्न उठाए। प्रश्न उठाउनेमध्ये एक हुन् नयाँबजार सामाजिक क्लबका सचिव तथा व्यवस्थापक टीकाराज पाण्डे। उनको प्रश्न थियो, ‘सदाझैँ यो वर्ष तयारी खर्च किन नदिएको? यसरी त कसरी प्रतियोगितामा सहभागी बन्न सकिन्छ?’
उनको प्रश्न अपेक्षित थियो। यसअघि संघले केही रकम क्लबलाई प्रदान गर्दै आएको थियो। यो वर्ष त्यस्तो सुविधा कटौती भएको छ।
‘पहिले उपत्यकाबाहिरको टिमलाई यातायात खर्च भनेर दिएको हो। अब यो वर्ष राम्रो स्पोन्सर आएको अवस्थामा छनोट हुने टिमलाई केही सहयोग गर्न सक्छौं होला,’ एनभीए महासचिव चन्दले जवाफ दिए, ‘यो खेललाई सरकारले सहयोग गर्दैन। खेलको विकास गर्न क्लबलाई सहयोग गनुपर्छ। क्लब च्याम्पियनसिप नभएको भए नयाँबजार क्लब यहाँ सहभागी हुनै पाउँदैन थियो।’
उपत्यका बाहिरका क्लबले केही सहयोग पाए भने उपत्यकाभित्रका क्लबले पनि केही थोरै भएपनि आर्थिक सहयोग पाउनुपर्ने आशय पाण्डेको थियो। यता, चन्दको जवाफमा पनि क्लबलाई सहयोग गर्ने वा नगर्ने भन्ने स्पष्टता छैन। त्यसमाथि उनले सहभागी बन्न पाउनु नै ठूलो कुरा रहेको भन्ने भावमा जवाफ फर्काएका थिए।
‘देशका सबै भागबाट टिम सहभागी बनेका छन्। काठमाडौंबाटै पनि तीन टिम सहभागी भएको छ। व्यवसायी मान्छेले त भलिबलमा अझै लगानी गरेर टिम ल्याउनु पर्छ,’ चन्दले थपे, ‘तर हाम्रो बजेट सानो छ ठूलो बजेट भए दिने नै हो।’
किन पाउँदैन प्रायोजक?
क्लबहरूले लामो समयसम्म खेलाडीको खर्च व्यवस्थापन गर्न नसक्ने बताएपछि खेल अवधि कम गर्नुपरेको संघ बताउँछ। कम अविधमा प्रतियोगिता सक्नका लागि दिनमा नै लामो समय खेलका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। यस वर्ष पुरुषतर्फ १२ टिम र महिलातर्फको ६ टिम गरी १८ टिम हुनेछन्। यी सबै खेल एकै सातामा सक्नुपर्छ।
सातामै सबै खेल सक्नुपर्ने भएकाले बिहान ७–८ बजेबाट रातको ८ बजेसम्म खेल सञ्चालन गर्नुपर्ने भएको छ। झन्डै १२ घण्टा लगातार खेलका कार्यक्रम सञ्चालन गर्नु संघका लागि मात्र चुनौतीपूर्ण होइन, मिडिया बोर्डकास्टरका यति लामो समय खेल प्रसारण गर्नु र त्यसका लागि समय पाउनु असम्भवजस्तै हो।
खेल प्रतियोगिता आयोजकले पैसा लिन सक्ने मुख्य माध्यम मिडिया बोर्डकास्टिङ हो। तर प्रतियोगिता लगभग साता दिनमा सकिने भएकाले लामो समय प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएपनि मिडिया बोर्डकास्टिङका लागि कुनै पनि टेलिभिजन ईच्छुक छैनन्। नेपालका कुनै पनि टेलिभिजनले त्यति धेरै समय भलिबलका लागि मात्र दिन सम्भव छैन। यता खेलकुदकै कार्यक्रम प्रसारणका लागि भनेर खोलिएका टेलिभिजन पनि व्यावसायिक भइसकेका छैनन्।
‘देशका सबै भागबाट टिम सहभागी बनेका छन्। काठमाडौंबाटै पनि तीन टिम सहभागी भएको छ। व्यवसायी मान्छेले त भलिबलमा अझै लगानी गरेर टिम ल्याउनु पर्छ,’ चन्दले थपे, ‘तर हाम्रो बजेट सानो छ ठूलो बजेट भए दिने नै हो।’
संघले दैनिक एक वा दुई खेल गराउने भए उसले ठूलो टेलिभिजन च्यानलसँग मिडिया ब्रोडकास्टिङका लागि सम्झौता गर्न सक्ने थियो। त्यसबाट उसले ठूलो रकम पाउने सम्भावना हुन्थ्यो।विश्वका अधिकांश प्रतियोगिता र क्लबले पाउने ठूलो रकम पनि मिडिया राइटबाट नै हो। तर एक साताको प्रतियोगिता गर्दा भलिबल संघले कुनै एक युट्युब च्यानलसँग ब्रोडकास्टिङको सम्झौता गर्नुपर्ने हुन्छ। जसबाट उसले पाउने रकम पनि अत्यन्तै न्यून हुन जान्छ।
टेलिभिजनमा नदेखिने प्रतियोगिताका लागि बन्ने प्रायोजक आफैं कम मूल्यका हुन्छन्। त्यसैले प्रतियोगिताको आयोजना गर्न नजान्दा भलिबलमा स्पोन्सरको खडेरी परेको हो। स्पोनसरमा खडेरी परेपछि संघले क्लबहरुलाई खर्चको व्यवस्थापन आफैं गर भनेको हो।
000
च्याम्पियनसिप आयोजना गर्न संघले अहिले प्रायोजक र सहप्रायोजक पनि पाइसकेको जानकारी दिएको छ। उसले पुरस्कार रकम बढाएर पहिलो हुनेका लागि चार लाख र दोस्रो र तेस्रो हुनेलाई दुई र तीन लाख दिने यसअघि नै बताइसकेको छ। भलिबल संघले ठूलो स्पोन्सर नपाउँदा क्लबले सानै पुस्कारमा चित्त बुझाउन परिरहेको छ।
यता नियमित प्रतियोगिता नभएको कारण क्लब व्यवसायिक बन्न सकेका छैनन् भने टिमको ग्रेडिङ पनि हुन सकेको छैन। अन्य खेलमा जस्तो क्लबको ग्रेडिङ किन हुन नसकेको? भन्ने प्रश्नमा एनभीए महासचिव जितेन्द्र बहादुर चन्दले भने, ‘फुटबलमा रेलिगेसन भएजस्तै अब आयोजना हुन लागेको भलिबल च्याम्पियनसिप हो। यसबाट छानिएका सीमित क्लबले चैतमा हुने क्लब लिग खेल्न पाउँछन्। क्लब च्याम्पियनसिप त १४–१५ ओटा क्लबले खेल्न पाउँछन् नि!’
साथै, बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन। पाकिस्तान राष्ट्रिय टिमका मुराद जिहानसहित तीन खेलाडी अलपत्र परेका थिए।
संघले हरेक पटक च्याम्पियनसिप गराएर क्लब लिगका लागि टिम छनोट गर्ने गरेको छ। यता क्लब लिग जित्ने टिमका लागि पनि अर्को वर्षको क्लब लिग संरकणमा स्थान सुरक्षित हुँदैन। उसले पुनः च्याम्पियनसिपका छनोट भएर आउनुपर्ने हुन्छ।
त्यसले गर्दा हरेक वर्ष त्यही क्लबहरुले प्रतिस्पर्धा गर्नेछन्। जसले गर्दा न क्लबको स्तर थाहा हुन्छ, न नयाँ क्लबले अवसर पाउँछन्। ‘अहिले ग्रेडिङ लागू हुने अवस्था भने छैन,’ उनले भने।
000
घरेलु प्रतियोगितामा निकै बलियो क्लब पश्चिमाञ्चल मानिन्छ। तर उसले अहिलेको संस्करणमा भाग लिएको छैन। त्यसबारेमा गरिएको प्रश्नमा महासचिव चन्द भन्छन्, ‘त्यो कुरा मलाई नसोध्नुहोस्। उतै सोध्नुहोस्, के प्राविधिक समस्या छ। आइरहेको हो, किन आएन उहाँलाई नै सोध्नुहोस्। तर अहिले महिलाको ६ टिम सहभागी छन्।’ यता प्रदेश २ ले भाग लिनेबारे घनेन्द्र यादवले महासचिव चन्दलाई खबर गरेका थिए। प्रदेश दुईले पनि सहभागिता जनाएमा महिला टिमको संख्या बढ्नेछ।
संघले असोजमा हुने प्रतियोगिताका लागि टोलीको गुणस्तर र टिमको संख्या दुवैलाई प्राथमिकतामा राखेको बताएको छ। प्रदेश नम्बर २ को टिम राम्रो रहेको संघको विश्वास छ।
महासचिव चन्दले उत्कृष्ट खेलाडी आउने दाबी गरेपनि प्रतियोगिता हुने निर्णय नै प्रतियोगिता सञ्चालन हुनुभन्दा एक महिना अघि मात्र भएको हो। भदौ ८ गते बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो। एक महिनाको समयमा क्लबले कस्तो तयारी गर्लान् र कस्ता खेलाडीले स्रोत जुटाएर प्रतियोगितामा भाग लेलान् भन्ने प्रश्न अनुत्तरित नै छ। एक महिनाको समय म्याच फिट गराउन नै अपुग देखिन्छ। यसकारण च्याम्पियनसिपमा गुणस्तरीयल खेल पस्किने भलिबल संघको दोबी तर्कसंगत छैन।
प्रायोजकले पैसा नदिँदा विदेशी खेलाडी अलपत्र
पछिल्लो चैतमा सम्पन्न क्लबल लिग च्याम्पियन्सिपमा हेल्प नेपाल क्लब पाँच खेल जितेर फाइनल पुगिसकेको थियो। फाइनल पुग्नका लागि अर्को टिममा बुलबुले रारा, आर्मी र एपीएफ प्रतिस्पर्धामा थिए। तर अन्तिम खेलमा आर्मी पराजित भयो।
अब एपीएफ र बुलबुले रारा फाइनलका कन्टेन्डर थिए। अन्तिम दिन एपीएफले हेल्प नेपालविरुद्ध जित निकालेको अवस्थामा एपीएफ फाइनल पुग्थ्यो। नभए बुलबुले रारा क्लब माथि भएले फाइनल पुग्ने अवस्था थियो।
बुलबुलेका प्रशिक्षकलाई एउटा आत्मविश्वास थियो कि ‘हामी फाइनल पुग्छौं।’ किनभने विदेशी खेलाडी ल्याएर बलियो बनेको हेल्प नेपालका अघि एपीएफ क्लब निकै कमजोर थियो।
अन्तिम खेलमा हेल्प नेपालले सबै विदेशी खेलाडीलाई आराम दियो र आफ्नो कमजोर टिम उतार्यो। त्यसैले एपीएफले हेल्प नेपाललाई लिग चरणको अन्तिम खेलमा हरायो। भोलिपल्टको फाइनलमा भने हेल्प नेपालले एपीएफलाई ३–० को सेटमा सहजै हरायो।
त्यसपछि बुलबुले क्लबका सबै पदाधिकारी रिसाए। उनीहरुले म्याच फिक्सको आरोपसमेत लगाए। उनीहरुले पुरस्कार लिन पनि अस्वीकार गरेका थिए।
साथै, बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन। पाकिस्तान राष्ट्रिय टिमका मुराद जिहानसहित तीन खेलाडी अलपत्र परेका थिए।
पछि संघ र अन्य दाताको सहयोगमा उनीहरु स्वदेश फर्किएका थिए। त्यो प्रसंगमा पनि प्रयोजकले समयमा पैसा नदिएको क्लबको भनाइ थियो।